एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ । हङकङले दिएको९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन् । यस्तै सीता रानामगरले अविजित ३६ रन बनाइन् । उनले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरिन् । कविता कुँवरले ४ रन जोडिन् । बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक एक विकेट लिए ।
मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन् ।
बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिइन् । नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन् । जारी प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा हङकङ, भुटान र माल्दिभ्स पनि छन् । एसिसी वुमन्स प्रिमियर कपमा १६ देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा कुवेत, म्यान्मार, सिङ्गापुर र थाइल्याण्ड छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । यस्तै समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, कलेसिया र कतार रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन पाउने छन् ।