टिकटक खोल्न सरकारलाई दबाब बढाइँदै

नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गरेको तीन महिना बढी भइसकेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयपछि टिकटक प्रतिनिधिले सरकारलाई खोल्न दबाब बढाएको पाइएको छ ।

२०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । बन्द भएपछि टिकटक प्रतिनिधिको एक टोली माघको दोस्रो साता काठमाडौं आएर फर्केका थिए । सरकारको निर्णय पुनर्विचार गर्न आग्रहसमेत गरेको थियो । टोलीले विभिन्न समूह, व्यक्तिसँग छलफल गरेर फर्केको थियो । फेरि एक टोली नेपाल आएको बताइएको छ ।

सरकारले टिकटक प्रतिनिधिको आग्रहलाई नटेरेपछि फेरि आग्रहका लागि नेपाल आएको बताइएको छ । प्रहरीको साइबर ब्यूरोसँग छलफल गराइदिनसमेत टिकटकका प्रतिनिधिले आग्रह गरेको बताइएको छ । प्रतिनिधि टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग बिहीबार भेट गरेको बताइएको छ । मुख्यता: टिकटकमाथिको प्रतिबन्ध खुलाउन आग्रह गरेको स्रोतको दाबी छ ।

सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेपछि सर्वोच्च अदालतमा १४ वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए । ती मुद्दा सर्वोच्चमा अझै पनि विचाराधीन छन् । सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै सरकारको निर्णय सदर गरिदिएको थियो ।

Exit mobile version