अख्तियारमा कोहलपुरको उजुरी बढी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्ने उजुरी मध्ये सबै भन्दा बढी स्थानीय तहको हुने गरेको छ । आइतबार अख्तियारको ३३ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यालयका शाखा अधिकृत नारायण ढकालले प्रस्तुति राख्दै स्थानीय तहसँग सम्बन्धित उजुरी अन्यको तुलनामा बढी हुने गरेको बताए ।


अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले बाँके, बर्दिया, दाङ्ग र रोल्पाको भ्रष्टाचार सम्बन्धी उजुरी लिने गरेको छ । अख्तियारको सम्पर्क कार्यालयले प्रारम्भिक उजुरी लिने अनुसन्धान गर्ने तथा बिस्तृत अनुसन्धानका लागि माथिल्लो निकायमा लेखी पठाउने गरेको छ ।


अख्तियारको सम्पर्क कार्यालयका शाखा अधिकृत ढकालका अनुसार, चालु आर्थिक बर्षको माघ २५ गतेसम्म ४ सय २ वटा उजुरी सम्पर्क कार्यालयमा परेका छन् । अघिल्लो आ.व.बाट सरी आएका गरी उजुरीको संख्या ७ सय १६ पुगेकोमा २ सय ८९ फस्र्यौट भएका छन् भने ४ सय २७ बाँकी रहेका छन् ।


सम्पर्क कार्यालयको कार्यक्षेत्रमा रहेका चार जिल्लाका ३६ स्थानीय तहको चालु आ.व.को माघ २५ गतेसम्म २ सय ४८ उजुरी परेका छन् । जसमा स्थानीय तह (संघीय मामिला) अन्तर्गतको १ सय ५८ र शिक्षा अन्तर्गतको ९० उजुरी परेका हुन् ।


सबैभन्दा अख्तियार दुरूपयोग सम्बन्धी सबैभन्दा बढी उजुरी बाँकेको कोहलपुरको परेको शाखा अधिकृत ढकाल बताउँछन् । चालु आ.व.मा कोहलपुर नगरपालिकाको उजुरी १६ वटा परिसकेका छन् ।

त्यस्तै, नेपालगन्जका उपमहानगरपालिकाको १३, घोराही नगरपालिकाको ११, डुडुवा गाउँपालिकाको १४, तुल्सीपुर उपमहानगरपालिकाको ९, गढवा गाउँपालिकाको ११, दंगिशरण गाउँपालिकाको १३ उजुरी चालु आ.व.मा परेका हुन् ।

Exit mobile version