चन्द्र गुरुङ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित

एथ्लेटिक्सका प्रशिक्षक चन्द्र गुरुङ ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ घोषित भएका छन् । एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भइरहँदा बाँकेका गुरुङ ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ घोषित भएका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भए । यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी भए । अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे ।

वर्ष उत्कृष्ट प्रशिक्षक घोषित एथ्लेटिक्सका प्रशिक्षक गुरुङले पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाएका छन् । उनलाई सूर्य नेपाल प्रा.लिका प्रतिनिधि विदूर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रा.लि.का सिनियर डिसिइडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरेका थिए । गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो ।

उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे ।

महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।

वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए । टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा करातेका विप्लभलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते ।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । उनलाई होटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालीका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे । एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुङ्खे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् ।

कुल ९ विधामध्ये एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् ।

Exit mobile version