स्मरणमा जनयुद्धको पहिलो दिनः जहाँबाट पहिलो फौजी कारबाही सुरु भयो

गणेश विशु

राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्धमा जाने अन्तिम तयारीमा माओवादी थियो । आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणा गर्ने माओवादीले तयारी गर्‍यो । रुकुम आक्रमणको नेतृत्व गर्ने मौका माओवादीका तत्कालीन जिल्ला सहायक इन्चार्ज गणेशमान पुनले मौका पाए ।

त्यतिबेलाका क्षेत्रीय ब्यूरो रामबहादुर थापाले गणेशमान पुनलाई रुकुमको आठबीसकोटमा रहेको प्रहरी चौकीमा फौजी कारबाही गर्ने टोलीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेका थिए । क्रान्ति र संघर्षको मैदानमा होमिएका पुनका लागि यो जिम्मेवारी चुनौती मात्रै थिएन, सिंगो पार्टीको अभियानसँग पनि त्यो जोडिएको थियो । ‘उक्त जिम्मेवारी पाउँदा मैले गर्वको महसुस गरें,’ उनले भने ।

उनका अनुसार पार्टीले फागुन १ गते राति दुलीको खोलाखेतमा जम्मा हुन निर्देशन गरेको थियो । अस्ताउँदो सूर्यसँगै योद्धा (लडाकु) खोलाखेतसम्मको यात्रामा हिँडे । गणेशमान पनि पीपल, छिन्खेत हुँदै खोलाखेत पुगे । ‘त्यहाँ पुग्दा केही साथीको जमघट भइसकेको थियो । अरू साथीहरू पनि आउनुभयो,’ पुनले भने, ‘करिब ३०/३५ जनाको संख्यामा थियौं । हामीसँग हतियारका नाममा भरुवा बन्दुक मात्र थियो । अरू घरेलु हतियार मात्रै थिए । पार्टी इन्चार्ज सुदर्शन (हेमन्तप्रकाश ओली) ले राजनीतिक प्रशिक्षण दिनुभयो । त्यतिबेला सबैलाई जिम्मेवारीपूर्वक लडाइँ लड्ने भन्ने निर्देशन भयो ।’

उच्च मनोबल र विद्रोही भावना लिएर जनयुद्धको प्रथम लडाइँमा पाइला चालेको उनले बताए । ‘ठूलो चुनौती थियो । दुस्मन (प्रहरी) सँग हतियार थियो । तर राजनीतिक प्रशिक्षणबाट ती हतियारभन्दा घरेलु हतियार नै शक्तिशाली र प्रभावकारी भन्ने कुरा हाम्रो मस्तिष्कमा घुसेको थियो,’ उनले भने । खोलीखेतबाट हिँडेको टोली बीच बाटोमा कैयौं अप्ठ्यारा परिस्थिति चिर्दै आठबीस डाँडागाउँको बार्खुमा पुग्यो । मध्यरात भएकाले गाउँ सुनसान थियो । बार्खुमा टोलीले अन्तिम प्रशिक्षण पायो । त्यहाँ टोलीको नेतृत्व गरेका पुनले प्रशिक्षण र निर्देशन दिएका थिए । त्यहाँ चार समूहमा विभाजन हुनेगरी जिम्मेवारी बाँडिएको उनले बताए ।

यज्ञश्वर शर्मा, दौलत घर्ती, मेघबहादुर श्रेष्ठ र महेश्वर गहतराजले एक/एक समूहको नेतृत्व गरे । यसको प्रमुख नेतृत्वकर्तामै थिएँ । त्यतिबेला टाढाबाट ढुंगामुढा र हातहतियार प्रयोग नगर्ने भन्ने थियो । ‘किनकि हामीले हानेको हतियार उनीहरूसम्म पुग्न सक्दैनथ्यो । उनीहरूले हानेको गोली हामीसम्म आइपुग्न सक्थ्यो । त्यसैले हामीले सरप्राइज (उपहार) दिनेगरी कब्जा गर्नुपर्छ भन्ने रणनीति लियौं । त्यो भनेको प्रहरी सुतेको बेला एक्कासि गएर समाउने,’ उनले भने, ‘त्यतिबेला रेडी अप्रेसन कमान, गो अट्याक भनेपछि मात्र एकसाथ कब्जामा जाने भन्ने निर्देशन गरेको थिएँ । सोहीअनुसार हाम्रो टोली प्रहरी चौकीतिर उन्मुख भयो । त्यहाँ करिब ढेड घन्टाजति तयारी गर्‍यौं । झमक्कै रात परेकाले प्रहरी सुतेका थिए । ब्यारेक थियो । नजिकै प्रमुख सुत्ने छुट्टै, हिरासत र परिवारसहितका प्रहरी बस्ने छुट्टै थियो । सोहीअनुसार हामी विभाजित थियौं ।’

पुनका अनुसार प्रहरीचौकी पुग्नुभन्दा पहिला एउटा समूह थियो, जसले त्यहाँको अवस्थाबारे जानकारी दिन्थ्यो । सबै सुतिसकेको अन्तिम जानकारी आएपछि टोली प्रहरी चौकी पुग्यो । ‘मैले निर्देशन दिनेबित्तिकै अरू साथीहरूले ढोका फोरेर भित्र पस्नुभयो । सुतिरहेको हुँदा प्रहरीले प्रतिकार गर्न पाएनन् । मैले उनीहरूलाई जनयुद्धको सुरुवात भइसकेको, इतिहासको जिम्मा जनताको हातमा आएको हुँदा यसमा सहयोग गर्नुस् भन्दै सम्झाएँ । त्यतिबेला हामीले हत्या गर्ने मनशायले धम्काएनौं,’ उनले भने, ‘हामीले आक्रमण गर्दा करिब २ बजेको हुँदो हो । प्रहरी चौकी कब्जा गर्न भने समय लागेन । दोहोरो भिडन्त भएको भए लामो समय लाग्थ्यो ।’

टोली कार्यालयमा भएका विस्फोटक पदार्थ, हतियार र कागजात कब्जामा लियो । प्रहरीका व्यक्तिगत सामान, पैसा, कपडा फिर्ता दियो । जनता पनि प्रहरी चौकीसम्म पुगे । माओवादीको अभियानलाई हौसला दिए । ‘शाही सत्ताको निरंकुश व्यवस्थाले आजित जनताले हामीलाई धन्यवाद दिँदै त्यहाँबाट बिदाइ गरे । त्यतिबेला मिर्मिरे उज्यालो हुन लागेको थियो,’ पुनले भने, ‘प्रहरीचौकी कब्जा हुँदा मैले पाएको जिम्मेवारी एकखालको पूरा भएको अनुभूति भयो । तर राजतन्त्रलाई समाप्त गरेर जनगणतन्त्र स्थापना गर्ने कैयौं आन्दोलन बाँकी नै थिए ।’

उनका अनुसार त्यो पहिलो युद्धमा कमला रोका, नारायणी शर्मा, लालकुमारी रोकालगायत महिला लडाकु पनि सहभागी थिए । जनयुद्धको पहिलो फौजी कारबाही सफल भएपछि पार्टी नेतृत्वले धन्यवादले ठूलो मनबल बढाइदिएको उनले बताए । ‘जनयुद्ध घोषणा हुँदाको पहिलो फौजी कारबाहीको नेतृत्व मैले गर्न पाएँ र सफल पनि भएँ,’ उनले भने, ‘जीवनको पहिलो सुखी त्यही विजयको क्षण थियो । हामी जनतालाई जनताको शासन दिन चाहन्थ्यौं । मेरो आजसम्मको अध्ययन र अनुसन्धानमा विश्व इतिहासका कुनै पनि क्रान्ति यति विस्तृत तयारी र योजनाबद्ध ढंगले सुरु गरिएका छैनन् ।’ २०५२ फागुन १ गते तत्कालीन माओवादीले थालेको ‘जनयुद्ध’ २०६३ मंसिर ५ सम्म चलेको थियो ।

Exit mobile version