नेपालगन्जका मुख्यमुख्य खबर

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय अदालतले बदर गरे पनि अदालतको आदेशविपरीत खजुरा गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दियो । खजुराबाहेक बाँकेका अन्य पालिकाले भने बिदा दिएका थिएनन् । सोमबार गृह मन्त्रालयले पनि सार्वजनिक बिदा नरहेको विज्ञप्ति जारी गरेको थियो ।

बाँकेको नेपालगन्जस्थित जमुनाहमा निर्माण भएको एकीकृत जाँच चौकी (आईसीपी) महिनौ अघि उद्घाटन भए पनि सञ्चालन हुन सकेको छैन । जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्लीमा एकीकृत जाँच चौकीको उद्घाटन गरेपछि जमुनाह र रूपैडिहामा दुवै देशका मालवाहक आवातजावत गराई उद्घाटन गरिएको थियो ।

क्रिकेटको क्रेज बढ्दै गएको नेपालगन्जमा क्रिकेट मैदान नहुँदा खेलाडीलाई दैनिक अभ्यास गर्न र प्रतियोगिता आयोजना गर्न समस्या भएको छ । यसका लागि सम्बन्धित पक्षले पहल गर्नु पर्ने खेलाडीहरुको भनाइ छ ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जमा व्याप्त बेथिति भएको भन्दै यसलाई सुधार गर्न अनेरास्ववियु बाँकेका युवाहरूले अल्टिमेटम दिएका छन् । उनीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ज्ञापनपत्र बुझाउँदै विभिन्न चार बुँदे माग प्रस्तुत गरेका हुन् ।

बर्दिया बासगढी नगरपालिका-८ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा तीनजना घाइते भएकाछन् । बाँके कोहलपुर हुँदै बर्दिया मधुवनतर्फ जाँदै गरेको भे१ख २२४४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा मधुवन–१ की १७ वर्षीया प्रेमिका जिसी, सोही ठाउँका १८ वर्षीय सरोज खड्का र १७ वर्षीय मनिष बिक घाइते भएका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जनाए । 

र, नेपालगन्जका मासु व्यवसायीलाई स्वच्छ मासु उत्पादन तालिम दिन थालिएको छ ।

Exit mobile version