भारतमा चर्किँदै किसान आन्दोलन

कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग राखेर भारतको पन्जाब राज्यका किसानहरू आन्दोलनमा उत्रिएका छन् । किसान संगठनहरूले दिएको अल्टिमेटमभित्र माग सम्बोधन नभएपछि हजारौं किसानले राजधानी नयाँदिल्ली प्रवेशको प्रयास थालेका हुन् ।

किसानहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको निवास घेराउ गर्ने कार्यक्रम राखेपछि उनीहरूलाई दिल्ली प्रवेशमै रोक लगाइएको हो । दिल्ली प्रवेशको बाटो अहिले सिल गरिएको छ । आन्दोलित किसानमाथि ड्रोनको प्रयोग गरेर अश्रुग्यास प्रहार गर्नुका साथै प्रभाव क्षेत्रमा इन्टरनेट पनि बन्द गरिएको छ । किसानहरूले ‘दिल्ली चलो’ दिल्ली जाऊँको नारा दिएर आन्दोलन थालेका हुन् । उनीहरूले आन्दोलनको सम्पूर्ण तयारीका साथ दिल्ली यात्रा थालेपछि सुरक्षाकर्मीले दिल्ली प्रवेशका राजमार्गहरूमा तारबार लगाएर र सिमेन्टका बार राखेर राजमार्ग अवरुद्ध पारेका छन् ।

पन्जाबबाट हरियाणा हुँदै दिल्ली आउन लागेका किसानलाई दिल्लीबाट १ सय ५० किलोमिटर टाढा हरियाणाको शम्भु बोर्डरमा रोकिएको छ । त्यहाँ किसानहरूले दिल्लीतिर प्रवेशका लागि जबर्जस्ती गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । ड्रोनको प्रयोग गरेर अश्रुग्यास चलाइएको छ । दर्जनौं किसान घाइते भएका समाचार छन् । किसान आन्दोलनका कारण हरियाणातर्फबाट दिल्ली आउने राजमार्ग ठप्प बनेको छ ।

Exit mobile version