नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन्

तपाईं नेपालगन्ज आउँदै हुनुहुन्छ ? हो भने पहिलेजस्तो मनपरी गर्ने अवस्थाको सडक अब धेरै दिन नरहन सक्छ । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । अब आउने जो कोही सवारी साधन होस् वा पैदलयात्रु ट्राफिक लाइटको इशारामा चल्नु पर्नेछ । त्यसका लागि ‘ट्राफिक लाइट’को ज्ञान आवश्यक हुन्छ ।
तपाईले देखिरहेको यो दृष्य विहीवार पुष्पलाल चोकको हो । पुष्पलाल चोकमा केही दिनदेखि ‘ट्राफिक लाइट’को परीक्षण भइरहेको छ । यसअघि गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ ।
राँझा चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जडानको काम भएको हो । पुष्पलाल चोक, वीपी चोक र गणेशमान चोकको काम सकिएको छ । धम्बोझी चोक र राँझा चोकको ‘ट्राफिक लाइट’ जडान अन्तिम चरणमा पुगेको बताएइएको छ ।
‘ट्राफिक लाइट’ जडान गरिएका ठाउँमा भइरहेको परीक्षणमा मनपरी गरिंदा अधिकाँश सवारी चालक झुक्किने र कतिपय झोक्किने गरेका छन् । त्यसले दुर्घटनाको जोखिम पनि देखा परेको प्रत्यक्षदर्शी बताउँछन् । बत्ती जडान गरी सकेपछि चोकचोकमा कम्पनीका स्वयंसेवक बसेर केही दिनसम्म ट्राफिक प्रहरी, सडकमा हिँड्ने सर्वसाधारण, विद्यार्थी तथा सवारीसाधनलाई ट्राफिक लाइटका चिह्न, नियम, सङ्केतका बारेमा सचेतना समेत प्रदान गरिने बताइएको छ । तर, परीक्षण भइरहँदा चोकमै बसेका ट्राफिक प्रहरीसमेत यसबारे सचेत देखिंदैनन् ।

सरकारको एक करोड ५९ लाख लागतमा निर्माण गरिएको ‘ट्राफिक लाइट’को उपयोगलाई प्रभावकारी बनाउन सचेतना आवश्यक देखिन्छ । पछिल्लो समय नेपालगन्जमा सवारी साधनको चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिंदै गएको थियो । ‘ट्राफिक लाइट’ ले यातायात चापसँगै ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने विश्वास गरिएको छ

Exit mobile version