क्यान्सर भएका ५० प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

चितवनस्थित बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर पौडेलले नेपालमा क्यान्सर भएका बालबालिकामध्ये ५० प्रतिशतभन्दा बढी अस्पतालको पहुँचभन्दा बाहिर रहेका जानकारी दिएका छन् ।

उनले भने, ‘नेपालमा बर्सेनि करिब एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँछन् । अस्पताल आउनेमध्ये बिपी कोइराला क्यान्सर अस्पतालमा चार सयको हाराहारीमा मात्र छन् ।’ अस्पतालद्वारा क्यान्सर भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उनले भरतपुर क्यान्सर अस्पताल आएका ६० प्रतिशत बालबालिकालाई क्यान्सर निको हुने गरेको जानकारी दिए । उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पुर्याउन सकिने उनको भनाइ छ । ‘अहिले अभिभावकमा चेतनाको कमी छ। आधा बिरामी त अस्पताल नै आउँदैनन् । आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्’, उनले भने, ‘अस्पतालमा शय्याको सङ्ख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ ।’ विश्व बाल क्यान्सर दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपालमा बालबालिकाको क्यान्सर रोगको उपचार बिपी कोइराला मेमोरियल क्यासन्र अस्पताल भरतपुरसँगै भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ ।

Exit mobile version