उत्तर भारतस्थित श्रीराम जन्मभूमि अयोद्वासंग माताजानकी जन्मभूमि नेपालको जनकपुर जोडने नेपालगन्जको प्रयास सफल भएको छ । प्रसिद्ध शक्तिपीठ नेपालगन्जस्थित बागेश्वरीलाई केन्द्रमा राखेर राम–जानकी धार्मिक सर्किट बनाउने अभिप्रायले गरिएको प्रयास सफल भएको हो ।
नेपालगन्जबाट १७० किलोमिटर सडक दूरीको अयोध्या र एक घन्टामा पुगिने हवाई यात्राको जनकपुरस्थित जानकी मन्दिरलाई धार्मिक यात्रा स्थापित गर्न यो पहल गरिएको आयोजक नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले बताए ।
नेपालगन्जबाट लुम्बिनीका सहरी बिकास मन्त्री कृष्णा केसी (नमुना), नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्ट, उप–प्रमुख कमरुद्दिन राइ, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार सम्मीलित टोली शनिबार जनकपुरधाम पुगेर फर्किएको छ ।
जानकी–रामका भक्तलाई जोड्न खोजिएको हो, अध्यक्ष सिग्देलले यात्रा सफल भएपछि दैनिक नेपालगन्जसंग भने, ‘यसको व्यवसायिक उडानमा सम्बद्धहरू गम्भीर बनुन् ।’
बिहान पुजा अर्चना गरेर साँझ आरती गर्न फर्किएका प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथले धार्मिक महत्वका दृष्टिले नेपालगन्ज– जनकपुर उडान ऐतिहासिक हुने बताए । पूर्वी नेपालका भक्तजनलाई राम मन्दिर पुग्नमात्रै होइन, अयोध्या आउने दशौ लाख भारतीयलाई जानकी मन्दिर दर्शन पुर्याउनु नेपालगन्ज–जनकपुर उडानको उद्देश्य हो, पहलकर्ता सिग्देलले भने ।
प्रदेश मन्त्री केसीले नेपालगन्ज र जनकपुरको सुन्दर भविष्यका लागि यो अभियानले सार्थकका पाउनुपर्ने बताइन् । उनको भनाइ छ, ‘यसमा सबैले सहकार्य गर्नुपर्छ ।’ प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री केसीको थियो ।
नगर प्रमुख बिष्टले जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहलाई नेपालगन्ज आगमनका लागि निम्तो दिदै दुबै नगरको धार्मिक पर्यटनका लागि हवाई सम्बन्ध महत्वपूर्ण हुने बताए । जनकपुरका नगर प्रमुख साहले छिटो आफुपनि नेपालगन्ज आउने प्रतिबद्धता जनाउँदै यो पहल र प्रयास प्रति खुलेर प्रशंसा गरे ।
‘नेपालगन्ज–जनकपुर पहिलो उडान उड्यो । उडानलाई निरन्तरता दिन हामी सबैले पहल गरौं । यी उडानपछि नियमित उडानहरू गर्न हवाई सेवा प्रदायक कम्पनीहरूलाई प्रेरित गरौं तपाई हाम्रो सानो सहयोगले मधेशका पारम्परिक दुई शहर नेपालगन्ज र जनकपुरबीच प्रत्यक्ष सम्बन्ध गाँसिनेछ’, मिन मल्ल भन्छन्, ‘बागेश्वरी, जानकी मन्दिर र अयोध्या बीचको सम्बन्ध भेटिनेछ । भगवान श्रीराम र सिताका भक्तजनहरूको तिर्थ गर्ने धार्मिक कोरिडोर स्थापित हुन सक्नेछ । धार्मिक पर्यटनलाई टेवा पुग्नेछ ।’
नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले शनिबार ७२ जनालाई लिएर नेपालगन्जदेखि जनकपुर सिधा चार्टड उडान गरिएको बताए । चार्टड उडानमा नाट्टा बाँकेले प्रतिब्यक्ति एकतर्फी भाडा ८ हजार ५ सय निर्धारण गरेको थियो । चार्टड उडान आगामी सोमबार पनि तय भएको
छ ।
यति एयरलाइन्सका दिलिप कार्कीले परीक्षण उडान सफल भएको बताए । उनले अर्को फ्लाइट पनि तय भएको जानकारी दिंदै नियमित फ्लाइटका लागि यात्रुहरुको आकर्षणमा भर पर्ने बताए ।