एमाले केन्द्रीय कमिटी बैठक चल्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने एमालेको जनाएको छ ।

बैठकमा सङ्गठनात्मक कामको प्रतिवेदन प्रस्तुत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । प्रतिवेदनमा एमालेले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गर्न आउँदो २०८१ साललाई शुद्धीकरण र सङ्गठन सुदृढीकरणको वर्ष बनाउने उल्लेख गरेको छ ।

बैठकमा प्रस्तुत भएको प्रस्तावमा केन्द्रीय सदस्यहरूले सामूहिक छलफल गरेर सुझाव पेस गर्नेछन् । साङ्गठनिक समस्यादेखि नेता कार्यकर्ताको आचरणमा देखिएका विचलनहरूलाई समेत प्रतिवेदनमा समेटिएको छ । पार्टीमा प्रवेश गरेका र अधिवेशनपछि जिम्मेवारीबाट बिदा भएका कार्यकर्ताहरूको व्यवस्थापनको विषय पनि केन्द्रीय कमिटी बैठकको एजेन्डा छ । बैठकमा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा चुनावमा एक्लिनुपरेको बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै सरकार सम्पूर्णरूपमा असफल भएको दाबी गरे ।

बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्री प्रकाश ज्वालालाई दोषी किटान गर्दासमेत राजीनामा नदिएको भन्दै अध्यक्ष ओलीले मन्त्री ज्वाला र प्रधानमन्त्री प्रचण्डको टिप्पणी गरे ।

Exit mobile version