दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ  । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको छ  ।

मोटरसाइकल पुनले चलाएका थिए भने भण्डारी पछाडि सवार थिए  । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा५प ५४५३ नम्बरको मोटरसाइकल घोराही बजार नजिकै घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो ।

घाइेलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको केही बेरमै पौने ७ बजेतिर दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिको मोटरसाइकलले साइकल यात्रीलाई जोगाउन खोज्दा दुर्घटनामा परेको थियो ।

डिएसपी मल्लका दुर्घटनास्थलमा साइकल फेला परेको छ । तर साइकल चालक भने फेला नपरेको र खोजी भइरहेको उनले बताए ।

Exit mobile version