सहकार्यको गुहार लगाउँदै‘ड्रीम प्रोजेक्ट’

साइक्लिस्टहरूका लागि ‘पम्प ट्रयाक’ रमाइलो सपना हो । त्यो सपना देखाउन सार्थक बनेको समाचार हो, नेपालगन्जमा बन्दै गरेको दक्षिण एसियाकै ठूलो ‘पम्प ट्रयाक’ ।


बाँके जिल्ला साइक्लिङ संघको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा धम्बोझीमा बन्दै गरेको त्यो ‘ड्रीम प्रोजेक्ट’ यो बेला आर्थिक सहयोगका लागि गुहार लगाइरहेको छ । ‘जिल्लाका सबै युवा विद्यार्थीसँग एक दिनको खाजा खर्च जुटाउन सकिन्छकी भनेर सोच्नुपर्ने अवस्था आएको छ,’ बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगनसिंह थापा भन्छन्, ‘त्यसका लागि प्याब्सन, एन–प्याब्सनसँग सल्लाह पनि गरिरहेका छौं ।’ साइक्लिस्ट थापाका अनुसार, विद्यालयस्तरका विद्यार्थी सबै भन्दा धेरै उपभोक्ता हुन् पम्प ट्रयाकका लागि । ‘विद्यालयलाई पनि यस अभियानमा जोड्न सकेको खण्डमा यसले प्रचारसँगै पैसा पनि पाउने थियो,’ थापाले आफ्नो अभियान सुनाए, ‘विद्यार्थीले पनि यो रमाइलो खेल पूर्वाधारको अपनत्व लिन सक्ने थिए ।’


स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौं र बाँके जिल्ला साइक्लिङ संघले आपसमा त्रिपक्षीय सम्झौता गरी नेपालगन्जमा पम्प ट्रयाकको परियोजना सञ्चालन गरेको हो । धम्बोझीमा निर्माणस्थल निश्चित भएपछि पूर्वाधार निर्माणकार्य शुरु भएको छ । ‘माटो भर्ने काम ३० प्रतिशत पुरा भएको छ,’ स्थानीय अगुवा, साइक्लिस्ट रमेश मल्लको नेतृत्वमा बनेको निर्माण उपभोक्ता समितिले काम गरिरहेको जानकारी दिंदै साइकल संघका अध्यक्ष थापाले भने, ‘यसैसाता माटो पाटनको काम सकेर वाटर ड्रेनेजको लागि पाइप विच्छ्याई सकिने छ ।’


अध्यक्ष थापाका अनुसार, त्यसपछिको खास कामका लागि स्वीट्जरल्याण्डबाट प्राविधिक टोली आउने छ । भेलोसोलुसनले खटाउने प्राविधिक टोलीले पम्प ट्रयाकको कामलाई ठोस रूपमा अगाडी बढाउने जानकारी दिंदै अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने, ‘बेस मेटेरियल बिछ्याउने र ट्रयाकमा असफाल्टको काम भेलोसोलुसनका प्राविधिक आएपछि हुनेछ ।’
विदेशी प्राविधिक टोली जनवरी ७ तारीखबाट कामलाई मूर्तरूप दिने गरि नेपालगन्जमा पुग्दैछ । ‘सुरु भएको १० दिनमा काम सक्ने छन्,’ अध्यक्ष थापाले नेपालगन्जका साइक्लिस्टहरूका लागि ड्रीम प्रोजेक्ट भएकाले नेपालगन्जलाई माया गर्ने र खासमा साइकल अभियानलाई माया गर्नेहरूले दिएको साथ र सहयोगमा परियोजना सफल बनाइछाड्ने अभियान सुनाए । स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पीस परियोजना अन्तर्गत नेपालमा दोस्रो पम्प ट्रयाक नेपालगन्जमा बनाउन लागेको हो ।


अस्फाल्ट प्रविधिमा बन्ने पम्प ट्रयाक नेपालगन्जको साइकल अभियानकालागि महत्वपूर्ण खेल पूर्वाधार हो । विश्वका ३० भन्दा धेरै देशमा सञ्चालित यो परियोजना नेपालगन्जमा आउनु आफैमा गौरबको कुरा भएको भन्दै साइकल अभियन्ता थापा भन्छन्, ‘त्यसका लागि सबै नगरवासीले सक्दो हातेमालो गरुन भन्ने अपेक्षा हो ।’ उनका अनुसार, यसअघि नेपालमा राजधानी काठमाडौमा मात्रै पम्प ट्रयाकको पूर्वाधार सञ्चालनमा छ । पम्प ट्रयाक निर्माणका लागि कन्सल्टेन्सी सहित जमीन छाडेर लगभग १ करोड ३५ लाखको बजेटिङ गरिएको छ । १ करोड भेलोसोलुसनले खर्च गर्ने समझदारी छ । ५ लाख बजेटसँगै माटो पटानमा आवश्यक मेसिनरी सहयोग नेपालगन्ज उपमहानगरपालिका गरेको छ । ‘५ लाख जति जनश्रमदान बाँके जिल्ला साइक्लिङ संघ र स्थानीय टोलबासी तथा उपभोक्ता समितिले गर्ने गरि काम भइरहेको छ,’ थापाले भने, ‘सहयोगको आश्वासन राम्रो आएपनि आवश्यक रकम जुटिहालेको अवस्था छैन ।’


लुम्बिनी प्रदेश सरकारले पनि सहयोगको प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा प्रदेश सरकार लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले १० लाख सहयोगको प्रतिबद्धता जनाएका हुन् । ‘खेल पर्यटनका लागि आवश्यक पूर्वाधार भएकाले प्रदेशबाट रकम प्राप्त हुनेमा आशावादी छौं,’ अध्यक्ष थापाले भने ।


आगामी जनवरी ८ तारिखबाट भेलोसोलुसनका इन्जिनियर तथा प्राविधिक टोली पूर्वाधार निर्माणमा जुट्ने निश्चित भएको छ । धम्बोझीमा फुटबल प्रशिक्षणका लागि बनाइएको खेल मैदान नजिकै साइकलका लागि पनि ‘पम्प ट्रयाक’ बनाउन लागिएको हो ।

Exit mobile version