अदालतको आदेशविपरीत ट्राफिक प्रहरीले राख्यो लगदहा चोकमा ड्रम

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको आदेशविपरीत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्ज-१८ लगदहा चोकको सडकमा ड्रम राखिएको छ । बढ्दो सहरीकरणसँगै सडक दुर्घटनाको जोखिम हुन सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरीले अदालतको आदेशविपरीत उक्त ड्रम राखेको हो ।

सडक न्यूनीकरण गर्ने अन्य उपाय हुँदाहुँदै सर्वसाधारणको आवागमनलाई असहजता ल्याउने गरी ड्रम राखिएको अधिवक्ता विकास आचार्यले बताए । ‘डिभिजन सडक कार्यालय नेपालगन्ज अगाडि सडकमा राखिएका ड्रम अदालतको फैसलाविपरीत हुने गरी राखिएको छ । सवारी साधनको तिव्र गति न्यूनीकरण गर्ने अरू पनि माध्यम हुन सक्छ होला,’ उनले भने, ‘यो मात्र विकल्प हो भन्ने होइन । यसको सही व्यवस्थापन अन्य प्रक्रियाबाट गर्न जरूरी छ तर फैसलाविपरीत हुने गरी कुनै निकायले काम गर्न पाउँदैन ।’ यस सम्बन्धमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज ईजलासका न्यायाधीश शारंगा सुवेदी र गणेशप्रसाद बरालले २०७४ चैत २८ गते फैसला हँुदा आवागमनमा अवरोध हुने गरी ड्रमसमेतका चीजवस्तु नराख्नू राख्न नदिनू भनी विपक्षीहरूको नाउमा परमादेशको आदेश जारी भएको थियो ।

त्यो (लगदहा) ठाउँमा बढी मान्छेको आवतजावत हुने भएकाले सडक सुरक्षाका लागि ड्रम राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जनाए । ‘कार्यविधि र कानुन एक ठाउँमा भए पनि ठाउँको अवस्थामा हेरेर ड्रम राखिएको हो,’ उनले भने, ‘प्रमुख राजमार्गभन्दा बजारी क्षेत्रका रुपमा यसरी राखेका छौं ।’ बाइपास र भित्री सडकबाट आउने सवारी साधनले राजमार्गमा आउँदा दुर्घटना हुन सक्ने भएकाले लगदहामा ड्रम राखिएको उनको भनाइ छ ।

Exit mobile version