सरकारका कारण सङ्कट बढेको एमालेको निष्कर्ष

नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ । हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो ।

एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा पुगेको जनाएको छ । वर्तमान गठबन्धन सरकारको कुशासन, आर्थिक असफलता, भ्रष्टाचार, चरम असुरक्षा, महँगीजस्ता विषयले नेपाली नागरिक आक्रान्त रहेको, सरकार पूर्णरूपमा असफल भएको, सरकारको गैरजिम्मेवार रवैयाले व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरेको एमालेको आरोप छ ।

एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न पनि सरकारसँग आग्रह गरेको छ । सडक दुर्घटना बढ्दा सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदाङ्गो भएको, सरकार कूटनीतिक मामिलामा चुकेको एमालेको निष्कर्ष छ । एमालेले विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न पनि माग गरेको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो । सरकारले तस्करी र भ्रष्टाचारलाई संरक्षण गरेको र शासन सञ्चालनमा द्वैध चरित्र देखाएको एमालेको आरोप छ ।

Exit mobile version