बंगलादेशसँग हुन सकेन विद्युत् खरिद बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच भएको विद्युत् खरिद बिक्री सम्झौता दररेटमा कुरा नमिलेका कारण हुन सकेन । सम्झौता हुन नसके पनि वार्ता भने सकारात्मक रूपमा अगाडि बढेको जनाइएको छ ।

आगामी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई देशबीच जतिसक्दो छिटो विद्युत् खरिद बिक्री सम्झौता गर्ने सहमति भने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भएको थियो ।

विद्युत् खरिद बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरूबारे विस्तृत रूपमा छलफल भएको र यसलाई अन्तिम रूप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेस गरेका थियौं, हामीले पेस गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरूबारे विस्तृत छलफल गर्‍यौं,’ घिसिङले भने ।

‘उहाँहरूले पनि माथिल्लो निकायबाट स्वीकृति लिनुपर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जतिसक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षा यामबाटै नेपालबाट विद्युत् खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’ प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न बंगलादेश समक्ष प्रस्ताव पठाएको थियो । विद्युत् खरिद बिक्री सम्झौता पाँच वर्षको लागि गर्न लागिएको थियो ।

नेपालले ढल्केबर–मुजफरपुर ४०० केभीअन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर-भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता गर्ने तयारी गरिएको थियो ।

Exit mobile version