अराजकताको अन्त्य हुँदैन त यो देशमा ?

आजभोलि नेपालमा अँग्रेजीको “सरी” भन्ने शब्दको नेपालीमा निकै प्रचलन भएको छ । यो शब्द अपराध गर्ने, अराजकता मच्चाउने, अरुको मानमर्दन गर्ने, अरुलाई हानीनोक्सानी पुर्याउने अनि “सरी” भन्दिने र उन्मुक्ति पाउने प्रचलनको लागि खुबै प्रयोग हुने गरेको छ ।

 “बच्चै देखि लाएको बानी कस्ले छोड्ला ? अरुको कुरा कसले मान्ला ?” भन्ने नेपाली भनाई झैं पञ्चायतकाल देखि नै पञ्चायतको बिरुद्ध दलहरुका नेताले रोपेको अराजकताको बीऊ २०४६ सालदेखि पात पलाउन थालेको हो । २०५२ सालबाट झाँङ्गिन थालेको त्यो अराजकताको बिषबृक्षमा एकदशक भन्दा बढि मनग्य फल लाग्यो । त्यसयताका डेढदशक देखि त्यो बिषबृक्षले नेपाली समाजलाई बिशाक्त छाँया दिइरहेको छ । गर्दागर्दा अहिले त्यसको असर देशको स्थानीय सरकार देखि प्रदेश र केन्द्रिय सरकारका हरेक अङ्ग अङ्ग नशानशामा पुगेको देखिन्छ । देशको नीति निर्माता भनिएकाकाहरुको मनमस्तिष्क नै अराजक बन्न पुगेको छ । शासन सञ्चालनका तौरतरिका पनि त्यहि छ । पेशा व्यवसायमा पनि त्यहि छ । समाजिक नैतिकतामा पनि त्यहि छ । अराजकताकोे पराकाष्ठाले अहिले देशको मुलकुल धर्म सँस्कृति मात्रै होइन नेपालको अस्मिता नै सिध्याउन थालिसकेको छ ।

नेपाली जनताबाट पनि ठूलो भूल भैरह्योे । बर्षौसम्म चलाइएको अराजकतालाई नै नेपाली जनताले परिवर्तनको स्वरुप माने । देशको कायापलटको बुटि माने । क्रान्तिकारिताको प्रयाय माने । समाज विकासको सिद्धान्त माने । यसैलाई दलगत शासकहरुले आफ्नो पार्टी पङ्तिभित्र संस्थागत गर्दै गए । आफ्ना कार्यकर्ताहरुलाई त्यहि लाइनमा प्रशिक्षित गर्दै गए । कताकता देशको शिक्षा नीति र यसको पाठ्क्रम पनि यस्तै यस्तै बनाइयो । आइएनजिओ लगाएर यसलाई अधिकारको खास्टो ओढाएर हरेक महिला, बालबालिका र बिभिन्न कथित लक्षित वर्गमा पुर्याइयो । त्यसले आजसम्म आइपुग्दा समाजलाई हरेक ठाउँमा शंकाको घेराभित्र लगिरहेको छ त्यसको परिणाम नेपालका हरेक वर्गले भोगिरहेको छ ।
समाजिक अराजकताको बिषबृक्षले समाजमा अपराधलाई फुलायो, फलायो । समाजमा ठगिखान सिकायो । बाहुबल, धाकधम्कि, “ब्ल्याकमेलिङ” लाई शासन सत्तामा टिक्ने हतियार बनायो । समाजमा अरुलाई मान्छे नगन्ने जमातको निर्माण गर्यो । नैतिक पतन भएकाहरुलाई सम्मान र अरुको नबिगारिकन गरिखानेहरुलाई अपराधी देख्ने नजरिया बनायो ।


न्यायका सिद्धान्तहरु भत्केका छन् । आजको युगमा पनि मत्स्य भनौं कि साँडे न्यायमा आधारित समाज निर्माण हुँदै गएको छ । यो देशमा यहि नै न्यायको विधि हो जस्तो भएको छ । कतै वडा सदस्य, अध्यक्षहरुले कर्माचारी कुटेका छन् । कतै आफ्नो पार्टीको काम नगरेको वा भ्रष्टाचारमा सहयोग नगरेकोमा अध्यक्षहरुले नै मापसेको सहारा लिएर महिला कर्मचारी लगाउने र सहयोग नगर्ने पुरुष कर्मचारीको चरित्रहत्या गर्न लगाएर आफ्नो अराजकताको दोकान चलाइरहेका छन् । कतै सुरक्षा निकाय निजामती र कर्मचारी कर्मचारी बीच नै हानाहान लातमुक्का चलेका छन् । यति गर्दा पनि र यस्तो हुँदा पनि ती दलका नेता कार्याकर्ता र कर्मचारीहरुलाई कहिँ कतै कुनै कानूनले कारवाही गर्दैन । भागबण्डा हुन्छ, अनि त्यहि अँग्रजीको पत्रु शब्द “सरी” भनिन्छ र अर्को काण्ड मच्चाउनको लागि उन्मुक्ति पाइन्छ । यसरी आज हाम्रो देशको न्याय चलेको छ । अराजकताको शासन चलेको छ ।
“सानालाई ऐन ठूलालाई चैन” भन्ने नेपाली उखान त्यत्तिकै बनाइएको होइन । यो त मत्स्य न्यायको पराकाष्ठा हो । यहाँ सत्ता र शक्तिको खोलभित्र रहेकाहरुलाई कहिँ कतै कुनै कानूनले छुँदैन । साँझसम्म अर्बौ भ्रष्टाचार भएको प्रमाण छ भन्दै हिँड्नेहरु रातारात सबैकुरा मिलिसक्यो अब कहिँ कतै केहि छैन भन्दै हिँडेछन् । भागबण्डामा भ्रष्टहरु र भ्रष्टाचारको फाइल बन्द हुन्छ । एउटा भ्रष्टचारको कुरा छोप्न अर्को काण्डको बाढी ल्याइन्छ ।
लोकतन्त्र भन्ने मात्रै हो । यहाँ न लोक बाँकी छ न त तन्त्र नै । न कुनै प्रतिपक्ष नै छ । भागबण्डा नमिल्दासम्म यहाँ लोकतन्त्र मात्रै होइन देश नै खतरामा देखिन्छ तर बागबण्डाको टेबलमा बसेर बिलो लगाएपछि सबथोक खतरामुक्त मात्रै होइन देश र जनताको उन्नत्ति नै उन्नत्ति भैहाल्छ ।


देशले दशक बढि भोगेको आतंकमा निमुखा जनताहरु मरे । हत्या र आतंकको दोकानेहरुको कहाँ कहाँ को को सँग गठबन्धन थियो भन्ने उ बेला त जनताले थाह पाएनन् तर अहिले सबैकुरा खुल्दै छ । नेपाली राजनीतिको ठिमाह पार्टी नेपाली काँग्रेसका केही नेता र आतंककारीहरु बीचको गठबन्धन मै देशमा बम बारुद पड्केको पनि उ बेलाका आतंकका नाइकेहरुले नै भन्दै आएका छन् । गाउँ गाउँमा नाबालकहरुलाई विद्यालयबाट थुतेर बन्दुक बोकाउनेहरुले दिएको शिक्षा त अराजकता मात्रै थियो । त्यहाँ कुनै नीति र सिद्धान्तले ओतपोत भएर उनीहरु लागेका थिएनन् । ती जनता मर्दै गर्दा नाइकेहरु भने ठाउँठाउँमा तिनका अकाहरुको मेजमानी खाँदै हिँडेका थिए ।


आज देशमा अन्तहीन अराजकताको बेथिति बसालेकाहरुले देशको शासन प्रशासनमा नै अराजकताको धमिरो लगाइरहेका छन् । आफ्ना सबै अपराधलाई माफ गराउन र राजनीतिको नाउँमा देशका धमिराहरुलाई सधैं सधैंका लागि उन्मुक्ति दिन अहिले देशको संघीय संसदमा बेथा लागेको तर ब्याउन नसकेको एउटा विद्येयक आएको छ । जुन विद्येयकबाट सबै हत्या र हिंसालाई वैद्यता दिएर जान खोजिँदै छ । टिआरसी विद्येयक ड्राफ्ट हुन मात्रै दशक लाग्यो । यसमा छलफलको नाउँमा राज्यकोषबाट अर्ब नै सकिएको हुनुपर्छ । आजसम्म यसमा बिलो नमिलेर अड्किएको छ । कुनै दिन त्यसमा पनि “सरी” भन्ने शब्द थपेर सब ठिक भयो भन्दै विद्येयक पारित भएमा कुनै अचम्म हुने छैन ।


देशमा बहुदल छ । तर दलका नाम र झण्डा मात्रै फरक हुन । आचार विचार र व्यवहार सबै एउटै छ । पछिल्लो समय त कुनै बहुदल नभएको जस्तो चुनावमा एउटै दल हने गरेको छ । सत्तामा एउटै दल हुन्छ । भाग बिलोमा एउटै दल हुन्छ । मिडियाबाजीमा एउटै दल हुन्छ । देश लूट्न भ्रष्टाचार गर्न, त्यसलाई चोख्याउन एउटै दल हुन्छ । अनि यसैलाई नै बहुदलीय व्यवस्था भनिन्छ र यसैलाई न उत्तम व्यवस्था भन्दै जयजयकार गरिन्छ भने नेपाली जनता पनि अराजक नै भएका हुन भन्नैपर्छ ।


अराजकताका अनेक रुप छन् । नबोल्नेहरु केहि नगर्नेहरु पनि अराजक हुन सक्छन् । भ्रष्ट, व्यभिचारी, देश लूटेराहरुका चण्डमुण्ड बनेर मौन बस्नेहरु त झनै घातक अराजकहरु हुन् । नेपालमा पछिल्लो दशकबाट यस्ता अराजकहरु बढेका छन् । यस्तैका कारण देशमा हरेक बेथिति संस्थागत हुँदै गएको छ । गलतलाई गलत भन्न नसक्ने पढेलेखेकाहरु पनि अराजक नै हुन् । “मलाई के भएको छ र ? मलाई के खाँचो ? त्यसले मेरो के खाछ र ? म नराम्रो किन हुने ?” भन्दै त्यस्ता बेथितिका पात्रहरुको साखुल्य बन्ने हरेक व्यक्ति उत्तिकै अराजक हो । नेपालमा यस्तै खाले अराजकहरु यत्रतत्र सवत्र भेटिन्छन् ।


जहाँ देश सर्वोपरि हुँदैन सम्झनु त्यहाँ अराजकताको पराकाष्ठा नै छ । नेपालमा देश कोहि कुनै पार्टी नेता वा ब्यूरोक्रेट्सको उच्च प्राथमिकतामा परेको छैन । यहाँ “म र मेरो” हावी भएको छ । पुराना त पुराना भए नयाँ नयाँ भनिनेहरु पनि अराजकतामा आफ्नो भविष्य खोज्ने प्रयासमा देखिएका छन् । युवा पुस्ता भनिनेहरु झन बढि अराजक देखिँदै छन् । यो भन्दा अराजकता अन्त कतै खोज्न जानु पर्दैन । अब प्रश्न उठ्छ कि यो देशमा “जुन जोगी आए पनि कानै चिरेको” भन्ने भाष्य बनाएर देशको राजनीति, शिक्षानीति, कृषिनीति, पराराष्ट्रनीति, स्वास्थ्य नीति, विकासनीति, कुटनीति सबैतिर अराजकता कहिले सम्म ? के नेपालमा अराजकताको अन्त्य हुन सक्दैन त ? अब त जनस्तरबाट पनि गम्भीर भएर सोच विचार गर्ने कि !

Exit mobile version