युवा आकर्षणका लागि अभियान थाल्दै अनेमसंघ

अखिल नेपाल महिलासंघले संघमा युवा महिलाको आकर्षण बढाउन अभियान थाल्ने भएको छ । संघले आगामी जेठ महिना सम्म अभियान संचालन गर्ने भएको हो । शुक्रवार संघको कार्यालय आलोकनगरमा भएको युवा भेलावाट यस्तो निष्कर्ष निकालिएको छ । 

भेलाले अभियानलाई सार्थकता दिन र युवाको संख्या बढाउन १५ सदस्यीय अनेमसंघ केन्द्रीय युवा आयोजक कमिटी समेत गठन गरेको छ । सो समितिले जेठ महिना भरी प्रदेश, जिल्ला र तथा नगर समिटी गठन गर्ने, अनेमसंघमा युवाको सदस्य संख्या थप्ने लगायतका काम गर्नेछ । आज नै बसेको समितिको पहिलो बैठकले ४ बुँदे कार्ययोजना समेत बनाएको छ । 

भेलालाई सम्बोधन गर्दै अनेमसंघका अध्यक्ष टुकाभद्र हमालले अनेमसंघमा पनि युवा महिलालाई समेट्न सकिन्छ भन्ने कुराको ज्ञान नहुँदा अनेरास्ववियु र युवासंघमा आवद्ध भएर राजनीति गरीरहेका युवाहरु विचलित हुने गरेको बताइन् । उनले अनेमसंघको वर्तमान नेतृत्वले युवालाई समेट्ने नीति लिएकाले अभियान संचालन गर्ने जानकारी दिइन् ।

भेलामा अनेमसंघका इन्चार्ज सीता पौडेल, महासचिव पेम्बा लामा, उपाध्यक्ष शर्मिला कार्की, डा बिमला राइ पौडेल, कोषाध्यक्ष इन्दिरा फुँयाल लगायतले अनेमसंघमा युवाको भुमिकाको महत्वका बारेमा बोलेका थिए । शुक्रवार गठन भएको आयोजक कमिटिको प्रमुख विन्दु अधिकारी, सचिव सुभेक्क्षा अधिकारी सहित १५ सदस्य छन् । 

अनेमसंघमा युवालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने अवधारणा सहित २०७१ सालमा अनेमसंघमा युवा कमिटी गठन गरिएको थियो । दिपा शर्मा रुपाखेती संस्थापक अध्यक्ष रहेको सो कमिटीको सकृयतामा अनेमसंघमा युवाको अनिवार्य सहभागीताको लागि नीति बनाएर सातौं राष्ट्रिय सम्मेलनवाट त्यसलाई पारित गरिएको थियो । 

सोही नीति अनुसार सम्मेलनवाट प्रत्येक प्रदेशवाट कम्तीमा ३ जना युवा महिलालाई केन्द्रीय कमिटीमा समेटिएको हो । अहिलेको केन्द्रीय कमिटीमा ३० प्रतिशत भन्दा बढी युवा महिलाको सहभागीता रहेको अनेमसंघ युवा कमिटीका अध्यक्ष विन्दु अधिकारीले बताइन् ।

Exit mobile version