खान आयोग्य मासु बिक्रीमा राखेको फेला

नेपालगन्जमा नियमित बजार अनुगमन हुन थालेपछि बजारमा रहेको बेथितिहरू बाहिर आउन थालेको छ । गुणस्तरहीन, बिना दर्ता तथा म्याद नाघेका मालासामान बिक्रीका लागि राखिएको अनुगमनका लागि फेला पर्न थालेको हो ।


पर्वका बेला मात्रै हुने गरेको अनुगमन पछिल्ला दिनमा नियमित हुन थालेको छ । पछिल्लो समय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलको अध्यक्षतामा भएको संयुक्त बजार अनुगमन समितिको बैठकबाट विषयगत कार्यालयले कार्ययोजना बनाएर महिनामा कम्तिमा २ पटक बजार अनुगमन गर्नुपर्ने निर्णय गरिएपछि अहिले नियमित बजार अनुगमन हुन थालेको हो ।


बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्व र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा नेपालगन्जका विभिन्न ठाउँमा माछा, मासु पसल अनुगमन गरिएको छ । त्यसक्रममा गुणस्तरहीन आशंका गरिएको मासु नष्ट गरिएको छ भने पसललाई जरिवाना पनि गरिएको छ ।


जयसपुर स्थित एउटा फ्रेस हाउसमा अनुगमनका क्रममा सरसफाई नरहेको तथा बिलबिजक जारी नगरेको पाइएपछि वाणिज्य कार्यालयले १० हजार जरिवाना गरेको अनुगमनमा सहभागी खाद्य अधिकार सञ्जाल बाँकेका अध्यक्ष बसन्त गौतमले जानकारी दिएका छन् । अनुगमन टोली देखेपछि आलिया फ्रेस हाउसका सञ्चालन पसल बन्द गरेर हिडेका थिए ।


अनुगमन गरिएका प्रायः मासु पसलमा कैफियत भेटिएको थियो । गणेशमानचोक स्थित सुफियान फ्रेस हाउसमा २९ केजी खान आयोग्य माछा, साढे २ केजी कुखुराको मासु सडेको, ३ केजी प्रतिबन्धित मंगुर माछा फेला परेपछि जफत गरी नष्ट गरेको छ । बिल बिजक जारी नगरेकाले उक्त पसललाई ५ हजार जरिवाना गरिएको थियो । त्यस्तै, जयसपुर स्थित मोहम्मद सोफियान फ्रेस हाउसमा खराब अवस्थामा रहेको करिब ४ केजी मासु र ७ केजी सडेगलेको अवस्थामा रहेको खसीको मासु जफत गरी नष्ट गरिएको छ । अनुगमन समितिले उक्त पसललाई २० हजार जरिवाना गरेको छ ।


त्यस्तै, धम्बोझीमा रहेको हाम्रो फ्रेस हाउसमा गरिएको अनुगमनमा खान आयोग्य खसीको ११ केजी र कुखुराको ३.५ केजी मासु बरामद गरी नष्ट गरिएको छ । उक्त पसललाई २० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।


अनुगमन टोलीलाई देखेर जमुनाहमा दुई वटा खुला बिक्रेता पसल छाडेर भागेपछि बिक्री स्थलबाट ३५ केजी माछा नष्ट गरिएको छ भने बिक्री स्थलमा रहेको रु ८ हजार २ सय ८० नगद, नोकिया मोबाइल सेट –१ र माछा काट्ने औजार, ढक तराजु २ थान बरामदी मुचुल्का सहित स्थानीय जमुनाह प्रहरीलाई बुझाइएको प्रशासनले जानकारी दिएको छ ।


अनुगमनमा भेटेनरी अस्पतालका प्रमुख कमला अधिकारी, वाणिज्य कार्यालयका विष्णु प्रसाद धिताल, खाद्य प्राविधिक तथा अनुसन्धान कार्यालयका एकराज बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

Exit mobile version