गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने एमालेको माग

प्रमुख प्रतिपक्ष एमालेले फागुन ६ देखि तीन मन्त्रीको राजीनामा माग्दै आएकोमा आइतबारदेखि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिनुपर्ने माग गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाको बैठकमा ललितपुरको बालकुमारीमा भएको घटनामा दोषी भएको भन्दै गृहमन्त्री श्रेष्ठले पनि राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँगै बालकुमारी घटनामै दोषी भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पनि राजीनामा मागेको छ । त्यस्तै, मन्त्री पदमा बहाल हुँदै टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र रामग्रामको जग्गा प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गरेको हो । यी मन्त्रीहरूले राजीनामा नदिए वा प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त नगरे संसद् अवरोध गर्ने चेतावनी पनि एमालेले गर्दै आएको छ ।

Exit mobile version