उपचुनाव वैशाख २० अगावै हुने

निर्वाचन आयोगले आगामी वैशाख तेस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ । वैशाख १५ देखि २० गतेभित्र कुनै एक दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी आयोगको छ ।

त्यसका लागि आइतबार साढे १२ बजे निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दैछ । यसबीचमा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम गरेको र फागुनको १७ गतेखि रूजु सुरू गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सेतोपाटीलाई जानकारी दिए । ‘वैशाखको १५ देखि २० गतेभित्र कुनै एक दिन उपनिर्वाचन गर्न मिति तोक्ने प्रक्रिया अघि बढेको छ । आजै आयोग पदाधिकारीको बैठक बसेर यसबारे छलफल गर्छौं,’ उनले भने ।

उनकाअनुसार वैशाखको १५ अगाडि उपनिर्वाचनको मिति तोक्न कठिन छ । मतदाता नामावली अद्यावधिक र रूजु गर्न चैतको २२–२३ गतेसम्म लाग्ने र त्यसपछि निर्वाचनको प्रक्रिया सुरू गर्दा वैशाख १५ पुग्ने उनले बताए । ‘चैतको २२–२३ गतेसम्म मतदाता नामावली अद्यावधिकको काम सकिन्छ । त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना र उम्मेदवारी दर्ताको प्रक्रिया सुरू गनुपर्ने हुन्छ,’ उनले भने, ‘कम्तीमा १५ दिन उम्मेदवारलाई प्रचारप्रसारको समय दिनुपर्छ, यो सबै गर्दा वैशाख १५ गतेअघि निर्वाचन गराउन गाह्रो छ ।’

उनले यसबीच उपनिर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि परामर्श भइसकेको बताए । ‘प्रधानमन्त्रीज्यूले पनि उपयुक्त समय तोक्नूस् भनिसक्नुभएको छ,’ उनले भने ।

Exit mobile version