राष्ट्रिय महिला हक्की, लुम्बिनी विजयी

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको सोमबारको खेलमा लुम्बिनीले गण्डकीलाई ५–० ले पराजित गरेको छ । लुम्बिनीका लागि ३ गोल गर्ने अनन्या वर्णवाल म्यान अफ दी म्याच भइन् । लुम्बिनीका लागि अर्चना शाहीले १ र आरती बर्मा कुर्मीले १ गोल गरेको राष्ट्रिय हक्की संघका केन्द्रीय सदस्य निजामुद्दिन सिद्दिकीले जानकारी दिए । लुम्बिनीको टोलीका लागि मुस्कान जोलह अन्सारी टिम कप्तान, शिखर टिम व्यवस्थापक रहेका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा कर्णालीबाहेक अन्य छ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका आठ टिमका एक सय ४४ खेलाडीको सहभागिता रहेको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता यही फागुन १९ गतेसम्म सञ्चालन हुने छ । खेलकुदमार्फत् देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढाउनका प्रतियोगिता आयोजना हुन लागेको उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार र ट्रफि, द्वितीय हुनेलाई ट्रफि सहित रु एक लाख र तृतीय हुने टिमलाई ट्रफि सहित रु ५० हजार नगद प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु १० हजार र प्रतियोगितामा रु ५६ लाख १३ हजार खर्च हुने अनुमान रहेको जनाइएको छ ।

Exit mobile version