इन्चार्ज खोसिएपछि खगराजले भने, ‘माओवादीले अराजकतालाई प्रश्रय गर्यो’

नेकपा माओवादी केन्द्रको स्थायी समितिले सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएपछि स्थायी समिति सदस्य खगराज भट्टले असन्तुष्टि व्यक्त गरेका छन् । अराजकतालाई दण्डित गर्नुपर्ने अवस्थामा झन् प्रश्रय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिने भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि भट्टले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे पत्र लेख्दै असन्तुष्ट व्यक्त गरेका छन् । मंगलबार भट्टले स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति रहेको प्रचण्डलाई चार बुँदेमार्फत् बताएका छन् ।

‘प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौं कार्यकर्ता र लाखौं जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु,’ उनले पत्रमा लेखेका छन् ।

यस्तै, स्थायी समितिमा अध्यक्षबाट पेस भएका प्रस्ताव र निर्णयमा अनेकौं प्रश्न गम्भीर रूपमा देखापरेको उनले बताएका छन् ।

Exit mobile version