एक्सिलेन्ट पेपर पब्लिक कम्पनीमा जाने

आयातको झण्डै १५ प्रतिशत बजार प्रतिस्थापन गर्ने उद्घोषका साथ सञ्चालन तयारीमा जुटेको एउटा उद्योग बैंकिङ्ग बेथितिको शिकार भएको छ ।
सम्बद्ध उद्योगपतिका अनुसार, बैंकले पूर्व प्रतिबद्धता अनुसार लगानी रोकेपछि सञ्चालकहरूको १० करोड बढी लगानी भैसकेको उद्योग सञ्चालनमा आउन नसकेको हो ।
आइतबार एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि.ले आफुलाई पब्लिक कम्पनीमा लैजाने घोषणा गर्दै ‘बैंकले गरेको बेइमानी विरुद्ध पब्लिकमा जाने निर्णय गरिएको’ बताएको छ । पाँच बर्षअघि सम्भाव्यता अध्ययन गरी पश्चिम तराईका विभिन्न जिल्लाबाट बाँकेको राप्तीसोनारीका लागि उपयुक्त स्थान छनोट गरेको एक्सिलेन्टले पहिलो चरणमा रिसाइकल उद्योग र अर्को चरणमा पेपर मिल स्थापना लक्ष्य राखेको थियो ।


कम्पनीका अध्यक्ष ज्योतिलाल भण्डारीले आइतबार चौथो विशेष भेला तथा शेयरधनीहरूलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरिएको कार्यक्रममा आक्रोशित हुँदै भने, ‘एक हजार बढी स्थानीयबासीलाई रोजगारी दिन्छु, कम्तिमा १५ प्रतिशत पेपर आयात बिस्थापन गर्छु भनेर सुरु गरिएको उद्योग सञ्चालनको वातावरण बनाउन दिइएन ।’ अध्यक्ष भण्डारीले बैंकबाट सम्पूर्ण अध्ययन पूरागरी २० प्रतिशत सञ्चालकहरूले लगानी गरिसकेपछि दिने भनिएको ८० प्रतिशत लगानी रोकिदिंदा यो अवस्था आएको दाबी गरे ।
‘पूर्व प्रतिबद्धता अनुसार बैंकले लगानी गरेको ६ महिनामा हामी पेपर रिसाइकल उद्योग सञ्चालनमा ल्याइसक्नेछौं’, स्थानीय सरकारका प्रमुख समेतको उपस्थितिमा अध्यक्ष भण्डारीले भने, ‘हामी तीनै तहका सरकार गुहार लगायौं, तर समस्या ज्यूँका त्यूँ छ ।’ अध्यक्ष भण्डारीले बैंकले लगानी रोकिदिएपछि भएको बदमासी विरुद्ध कानुनी उपचारमा समेत न्यायालय जानु परेको खुलासा गरे ।

कम्पनीका महाप्रबन्धक राजेन्द्र चौधरीले बाँकेको राप्तीसोनारी–२ मा रहेको उद्योग क्षेत्रका लागि १६ विगाह जमिनको व्यवस्था गरी पूर्वाधार निर्माण कार्य भैरहेको जानकारी दिए । ‘तीन सय जनालाई प्रत्यक्ष रोजगारी १ हजार बढीलाई अप्रत्यक्ष लाभान्वित गर्ने योजना यो उद्योग सञ्चालनको पहिलो चरणमै छ’, महाप्रबन्धक पेपर रिसाइकल उद्योगका लागि डिपिसीसम्मको निर्माण कार्य समेत भैसकेको जानकारी दिंदै भने, ‘दैनिक ३० टन क्षमताको उद्योग स्थापना गरी दैनिक न्यूनतम २५ टन रिसाइकल पेपर उत्पादन गर्ने योजना बनाइएको छ ।’
शतप्रतिशत कच्चा पदार्थ स्थानीय स्तरमै र देशमै उपलब्ध हुने भएकाले यो देशकै गौरवको परियोजना बन्न सक्ने दाबी उद्योग सञ्चालकहरूको छ । कार्यक्रममा विभिन्न शेयरधनीहरूलाई प्रमाणपत्र वितरण गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले सक्दो सहयोग र सहजीकरणको प्रतिबद्धता जनाए । शेयर सदस्य सावित्रा चौधरी, भीम राना लगायतले कच्चा पदार्थ पनि स्थानीय स्तरमै उपलब्ध हुने र पेपर मिलका लागि चाहिने बाँस, बाबियो, खर लगायतको खेतीले स्थानीयबासीको रोजगारीसँगै राप्ती तटीय बस्तीमा प्राकृतिक तटबन्ध समेत हुने औंल्याए ।

Exit mobile version