बित्तीय साक्षरता अभियानमा भरोसा

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वित्तीय साक्षरता अभियान लिएर घरदैलो सुरु गरेको छ । पछिल्लो दिन विभिन्न सहकारीमा समस्या देखिएपछि त्यसले अन्य सहकारीलाई पारेको नकारात्मक प्रभाव न्यूनीकरण र शेयर सदस्यको भूमिकाले सहकारी बलियो हुँदै जाने विश्वास वृद्धिका लागि अभियान सुरु गरेको भरोसाले जनाएको छ ।


‘खासगरी आम जनमानसमा वित्तीय साक्षरताको अभाव निकै देखिएको छ’, घरदैलोका क्रममा पाइएका विभिन्न अनुभव सुनाउँदै भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावतलले दैनिक नेपालगन्जसँग भने, ‘बदमासी गर्नेलाई कारवाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्नेतर्फ राज्यका निकाय नै अग्रसर हुनुपर्ने खाँचो छ ।’


एक बर्ष अघि मात्रै विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू मिलेर सञ्चालनमा ल्याएको भरोसाले छोटो समयमै विश्वास जित्न सफल भएपनि सहकारी प्रतिको नकारात्मक धारणाले प्रभाव पारेको रावलको बुझाइ छ । ‘सहकारी मुलुकको आर्थिक मेरुदण्डको एउटा महत्वपूर्ण खम्बा हो’, पूर्व बैंकर रावलले भने, ‘ठूलो बैंक तथा वित्तीय संस्थाले गर्ने काम र सहकारीका भूमिका सामाजिक रूपमा निकै फरक र महत्वपूर्ण छ भन्ने कुरा जनतालाई बुझाउन जरुरी छ ।’


प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, आफ्नो कार्यक्षेत्रमा समुदायसँगै भरोसा भन्ने अभियान अन्र्तगत सहकारी संस्था र शेयरसदस्यहरू बीचको सहकार्य, वित्तीय साक्षरताका लागि प्रशिक्षित गर्ने काम संस्थाले गरिरहेको छ ।


‘प्रविधि साक्षरता र वित्तीय समावेशितालाई जोड दिँदै शेयरसदस्यहरूको आर्थिक सक्षमता अभिवृद्धि गर्न तथा सुखी र खुसी सदस्य बनाउन समुदायमै गएर प्रत्यक्षरूपमा भेटघाट गरि उनीहरूका वास्तविक आवश्यकतालाई पहिचान गर्ने र सदस्यहरूको आर्थिकवृद्धिदरमा के कसरी हातेमालो गर्दै अगाडी जान सकिन्छ’, रावलले प्रशिक्षणका क्रममा भने, ‘देशमा देखापरिरहेको बित्तीय संकट तथा सहकारीहरू प्रति आम जनमानसमा रहेको नकारात्मक दृष्टिकोणलाई यस अभियानले केहि हदसम्म सकारात्मक बनाउने तर्फ महत्वपूर्ण भूमिका खेल्नेछ ।’
जिल्लामा रहेका सबैजसो सहकारीले आफ्ना शेयरधनी बीच मात्र नभई समग्रमा यसखालको वित्तीय साक्षरता अहिलेको आवश्यकता रहेको बैंक तथा वित्तीय क्षेत्रका विज्ञ समेत रहेका रावलले बताए । ‘आम जनतालाई अहिलेको अवस्था र आवश्यकताबारे बुझाउन ढिलो गर्नु हुँदैन’, रावलले भने, ‘त्यसका लागि हामी भरोसालाई लिएर सक्दो धेरै जनतामाझ पुग्दैछौं ।’

Exit mobile version