नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

गत पुस तेस्रो साता बाँकेको नौबस्ता स्थित बाल सुधार गृहमा दुई समूह बीच भएको झडप पछि भागेका मध्ये १२ बालबन्दी अझै सम्पर्कविहीन छन् । पुस १५ गते बालसुधार गृहमा भएको झडप पछि १५ बालबन्दी कारागारबाट भागेका थिए । बालसुधार गृह भएकाले त्यहाँ रहेका सुरक्षाकर्मीले बल प्रयोग गरेन, बालकहरू भागे, प्रहरीले खोजे पछि बालसुधार गृहबाट भागका १२ जना अझैपनि सम्पर्कमा छैनन् ।

नौबस्ता बालसुधार गृह प्रमुख श्याम रानाले सुधार गृहमा विभिन्न जिल्लाबाट १ सय १५ जना राखिएकोमा हाल १ सय ३ जना रहेका छन् । १२ जना फरार अवस्थामा छन् । उनले नौबस्तामा बालबन्दी बीच झडप भएपछि सुरक्षा कारणले २१ जनालाई अलग्गै राखेका जानकारी दिए ।

बाल सुधार गृह सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । प्रहरीले प्रहरी नायब निरीक्षकको कमान्डमा २५ जना र सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमान्डमा ३० जना प्रहरीलाई नौबस्तामा राखेको थियो । यद्यपि, सुरक्षाकर्मीका व्यवस्थापन समस्या भैरहेको, उनीहरूका लागि आवश्यक पूर्वाधार अझै उपलब्ध हुन नसकेको प्रहरी अधिकारी बताउँछन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले सुधार गृहका लागि दरबन्दी नभएपछि भएकै प्रहरीहरू यताउताबाट तानेर सुधार गृहको सुरक्षाका लागि खटाएको बताउँछन् ।

‘कानुनी, मानसिक परामर्श उपलब्ध नहुनु, अदालतबाट आवश्यक कागजात, पुर्जी समयमै नपाउँदा समस्या भैरहेको छ’, बालसुधार गृह प्रमुख राना भन्छन्, ‘संघ, संस्थाले भाँडाकुडा, खेलकुद सामाग्री सहयोग गर्नुभएको छ, शुद्ध खानेपानीको समस्या छ ।’ उनले सुधार गृहमा रहेका बालबन्दीलाई कानुनी परामर्श र मनोसामाजिक परामर्श निकै आवश्यक रहेपनि उपलब्ध नभएको बताउँछन् ।

गत असोजमा बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा सुधार गृह सञ्चालनमा आएको थियो । देशभर रहेका विभिन्न बाल सुधार गृह क्षमता भन्दा बढी र १८ बर्ष नाघिसकेका समेत रहँदा हुने विवाद र द्वन्द्वका कारण क्षेत्रीय कारागारको ब्लकमा बाल सुधार गृह सञ्चालनमा ल्याइएको थियो । यद्यपि, पूर्वाधार पर्याप्त व्यवस्था नगर्दै बाल सुधार गृह सञ्चालनमा ल्याउँदा त्यसपछि पनि समस्या भने रहेको छ ।

बाँकेको डु्डुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा पनि असोजको पहिलो साता एक बालकको ज्यान जाने गरी घटना भयो । प्रहरी, प्रशासनलाई उक्त घटना नियन्त्रणमा लिन निकै सकस भएको थियो । त्यसपछि त्यहाँबाट पनि १८ बर्ष पूरा गरेका बालबन्दीलाई नौबस्ता सारिएको छ । १८ बर्ष नाघेका बालबन्दी सारिएसँगै अहिले डुडुवाको बाल सुधार गृह सामान्य रूपमा चलिरहेको छ ।

Exit mobile version