लुम्बिनी सरकारका विवादित कामको जवाफ माग्ने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले संसदीय दलको बैठकले सरकारका विवादित काम र निर्णयको जवाफ माग्ने निर्णय गरेको छ । दाङको भालुबाङमा शुक्रबार बसेको बैठकले सरकारको ध्यानाकर्षण गराउँदै विगतका सहमति कार्यान्वयन गर्न दोस्रोपटक आग्रह गरेको हो ।

बैठकले सरकारका विवादित निर्णय र कामका विषयमा ध्यानाकर्षण गराउँदै लुम्बिनीमा हुन लागेको चौथो बालबालिका, विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय लोरेट एण्ड लिडर्स शिखर सम्मेलनको विषयमा पनि जानकारी माग गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार बैठकमा सांसदहरूले बजेट विनियोजन, कार्यान्वयनदेखि प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति कार्यान्वयनमा वर्तमान सरकारले उदासिनता देखाएको भन्दै दलका तर्फबाट जवाफ माग्नुपर्नेमा जोड दिएका थिए ।

लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक शुक्रबार ५ मिनेट १७ सेकेण्ड बसेर स्थगित भएको थियो । शनिबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

Exit mobile version