मलेसियाले अवैधानिकरूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका घर फिर्ता गर्दै

मलेसियाले अवैधानिकरूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ । 

दूतावासले यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा बिनाभिसा प्रवेश गरेका वा भिसाको म्याद सकिएर बसेकाको हकमा पाँच सय मलेसियन रिङ्गिट जरिबाना र भिसाको नियम उल्लङ्घन गरी मलेसियामा बसेकाको हकमा तीन सय मलेसियन रिङ्गिट जरिबाना तिर्नुपर्ने जनाएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीलाई यो मौकाको फाइदा उठाएर स्वदेश फर्किने अवसर लिन आग्रह गरेको जनाएको छ । दूतावासका अनुसार अवैधानिक रूपमा मलेसिया बस्दै आइरहेका घर फर्कन चाहने विदेशी नागरिकको सहजीकरणका लागि मलेसियाको अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन ।

यसका लागि घर फर्कन चाहने नेपालीले स्वयम् प्रक्रियाअगाडि बढाउनुपर्ने दूतावासको सूचनामार्फत जानकारी गराइएको छ । घर फर्कनका लागि वैध राहदानी वा यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) का लागि नेपाली दूतावासमा आवेदन दिनुपर्ने छ । निवेदन दिएको १४ दिनभित्र नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

Exit mobile version