रूस-युक्रेन युद्धः शान्तिका लागि चीनको खोजी

रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै शान्तिका लागि युक्रेनले चीनको खोजी गरेको छ ।  रुसको  सबैभन्दा शक्तिशाली सहयोगी चीनलाई युक्रेनले शान्तिका लागि पहल गर्न फेरि आग्रह गरेको हो ।

युक्रेनी र चिनियाँ अधिकारीबीच यसै  साता स्विट्जरल्याण्डको डाभोसमा कुराकानी भएको समाचार सिएनएनले प्रकाशित गरेको छ । त्यस वार्तामा युक्रेनका तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र उनका  विदेशमन्त्री दिमित्रो कुल्लेबा सहभागी थिए भने चीनबाट विदेशमन्त्रालयका प्रतिनिधि सहभागी रहेको सिएनएनले उल्लेख गरेको छ ।

वार्तापछि सञ्चारकर्मीसँग जेलेनेस्कीले दिएको प्रतिक्रिया उद्दृत गर्दै सिएनएनले लेखेको छ, ‘युक्रेनको शान्ति योजनामा चीनको संलग्न हुन चाहान्छ ।’ यस्तै विदेशमन्त्री दिमित्रोले चीनसँग अझै घनिभूत छलफल हुने  बताएका छन् । ‘हामीले अझै उच्च तहमा छलफल गर्न चाहेका छौं । सम्पर्क स्थापति गरेर शान्ति प्रस्तावबारे चिनियाँ पक्षसँग सबै तहमा संवाद हुनेछ,’ उनले भनेका छन् ।

यता, यसै साता विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले जेलेनेस्कीसँग कुनै भेट गरेनन् । यस्तै २५ मिनेटको सम्बोधनमा उनले विश्व युद्ध परिवेशबारे कुनै पनि धारणा राखेनन् । उनले चीनको अर्थतन्त्र सम्हालिने स्थितिमा रहेको भन्दै सबैलाइ आश्वस्त बनाइरहे । गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङले युक्रेनी समकक्षी जेलेनेस्कीसँग भेट गरेर शान्तिका लागि पहल गर्ने बताएका थिए ।

Exit mobile version