पाकिस्तानमा ४ हजार २१३ वटा बाल दुर्व्यवहारका घटना

पाकिस्तानमा सन् २०२३ मा कुल ४ हजार २१३ वटा बाल दुर्व्यवहार (यौन तथा अन्य) का घटनाहरू घटेका छन् । स्थानीय गैर-सरकारी संस्था साहिलले शुक्रबार जारी गरेको प्रतिवेदनमा यस बारे जानकारी दिइएको छ ।

ती घटनाहरू ८१ वटा राष्ट्रिय तथा क्षेत्रीयस्तरका पत्रपत्रिकामा उल्लेख गरिएका घटनाका आधारमा संस्थाले सङ्कलन गरेको तथ्याङ्कले गत वर्ष पाकिस्तानमा दैनिक करिब ११ जना बालबालिका दुर्व्यवहारको शिकार भएको देखाएको छ । जम्मा रिपोर्ट गरिएका घटनाहरू मध्ये २ हजार २५१, अथवा लगभग ५३ प्रतिशत पीडित बालिका भएको देखिएको छ भने १ हजार ९६१ जना अथवा करिब ४७ प्रतिशत बालकहरू दुर्व्यवहारको शिकार भएको पाइएको छ ।

पीडितहरूमध्ये ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरू दुर्व्यवहारको सबैभन्दा बढी जोखिममा परेको पाइएको छ । तीमध्ये पनि केटीहरू बढी पीडित छन् । प्रतिवेदनले ५ वर्ष मुनिका बालबालिकाहरू पनि यौन दुर्व्यवहारको शिकार भएको देखाएको छ। बढीजसो चिनजानका व्यक्तिहरूबाटै बाल यौन दुर्व्यवहार घटेको प्रतिवेदनले देखाएको छ।

Exit mobile version