‘लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउन शिखर सम्मेलन’

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागनु २८ र २९ गते आयोजना गर्न लागिएको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन पर्यटन प्रवर्द्धनका लागि भएको बताउनुभएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रतिनिधिका रुपमा प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले शिखर सम्मेलन सङ्घीय सरकारको निर्णयकै आधारमा प्रदेश सरकारले आयोजना गर्न लागेको बताउनुभयो । उहाँले सम्मेलनमा ११ जना नोबेल पुरस्कार विजेता आउने निश्चित भएको समेत जानकारी गराउनुभयो ।

उहाँले बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउने उद्देश्यले शिखर सम्मेलन गर्न लागिएको बताउनुभयो । “लुम्बिनी बौद्ध धर्मालम्बीका लागि मात्रै होइन सबैका लागि हो”, गृहमन्त्री पाण्डेले भन्नुभयो, शिखर सम्मेलन लुम्बिनीको आर्थिक समृद्धिका लागि पनि हो ।”

प्रदेश सरकारले चालु वर्षको नीति तथा कार्यक्रममा समेत शिखर सम्मेलनको विषय समेटेको स्पष्ट पार्दै यो विषय कुनै व्यक्ति तथा दलले ल्याएको नभएको उहाँको भनाइ थियो । प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शिखर सम्मेलनबारे प्रश्न उठाएको थियो । प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले सम्मेलन सुरुमा पर्यटन प्रवद्र्धनको निम्ति भनिए पनि पछि बालबालिका, विकास र शान्तिको विषय जोडिएर आएको विषयबारे सरकारको जवाफ माग गर्नुभएको थियो ।

Exit mobile version