प्रदेश कृषि मन्त्री यादवद्वारा सिँचाइ आयोजना अनुगमन

लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गर्नु भएको छ ।

किसानको खेतबारीमै पुगेर अनुगमन गर्नु भएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।
उहाँले सिँचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो ।

विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाईएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरु बनाईरहेको बताउनुभयो ।

अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँग भेटघाट गरी तरकारी खेतीमा उनीहरूको संलग्नता र आवश्यक थप कृषि सहयोगका बारेमा अन्तरक्रिया गर्नु भएको थियो ।

बाँके युनेस्को क्लबको साझेदारीमा कतार च्यारिटी नेपालले सहयोग गरेको सानो सिँचाइ सुविधा देखेर धेरै खुसी लागेको जनाउँदै उहाँले किसान समूहलाई आर्थिक सशक्तिकरणको लागि यो सहयोगले आकर्षक तरकारी खेतीमा संलग्न हुन सक्षम बनाएको बताउनुभयो ।

अनुगमन टोलीमा रहनु भएका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सिँचाई आयोजनाको सहयोगपछि भएको खेती देखेर आफु पनि धेरै प्रभावित भएको जनाउँदै बाँके युनेस्कोसँगको सहकार्यमा गरिब किसान समूहलाई सहयोग गर्न आफ्नो ऐक्यबद्धता प्रकट गर्नुभयो ।

सो अनुगमन टोलीमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक बिनिता आरसी र बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कमला न्यौपाने लगायतको पनि सहभागिता रहेको थियो ।

Exit mobile version