एमाले–रास्वपाबीच गृह मन्त्रालयको हानथापमा श्रेष्ठको ‘इन्ट्री’

नयाँ बनेको चारदलीय सत्ता गठबन्धनमा गृहमन्त्रालयको भागबण्डा पेचिलो बनेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले गृह र अर्थमध्ये एक मन्त्रालय आफ्नो ‘बटमलाइन’ बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक अर्थमन्त्रालय माओवादी केन्द्रसँगै राख्न चाहेका छन् । अर्थको जिम्मेवारी वर्षमान पुनलाई दिने प्रधानमन्त्रीको तयारी छ । यसैले अर्थमन्त्रालय आफूसँग राख्न गृहमन्त्रालय छाड्ने ‘संकेत’ सोमबारकै गठबन्धन बैठकमा गरिसकेको स्रोत बताउँछ ।

गृहमन्त्रालयमा बलियो दाबी संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गरिरहेको छ । पार्टी सभापति रवि लामिछाने आफै उपप्रधान एवं गृहमन्त्री भएर सरकारमा सामेल हुन चाहिरहेका छन् । एक वर्षअघि ३३ दिन सोही भूमिकामा रहेका लामिछाने अहिले पुनः गुमेको ठाउँ लिनेगरी सत्तामा समावेश हुन चाहेको स्रोत बताउँछ ।

गृहमा एमाले र रास्वपाको यही हानथाप हुन्छ भन्ने आँकेर सोमबारै प्रधानमन्त्री दाहालले चतुर्‍याइँपूर्ण ढंगले एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकामा थुपरिदिएका छन् । उनले ‘गृहमन्त्रालय एमालेको हो, कसलाई दिने ओलीजी नै मिलाउनुस्’ भनेर पन्छिन खोजेका थिए ।

गृहमन्त्रालय लगायतका प्रभावशाली मन्त्रालयमा भागबण्डा मिलाउन सकस भएकैले सोमबार तीन जना मन्त्रीलाई विना विभागीयका रुपमा शपथ ग्रहण गराइएको छ ।

एमाले र रास्वपाबीच चलेको गृहमन्त्रालयको रस्साकस्सीमा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि मिसिएका छन् । श्रेष्ठले गृहमन्त्रालयमा निरन्तरताका लागि माओवादी केन्द्रभित्रै दबाब बढाएका छन् ।

यस्तै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई गृहमन्त्री टुंग्याउने जिम्मेवारी सुम्पिएकाले श्रेष्ठ ‘गृहमन्त्री पाउँ’ भन्दै ओली निवास बालकोट पुगेका छन् । ओलीलाई भेटेर श्रेष्ठले आफूले विगतमा गृहमन्त्री हुँदा सुशासनका पक्षमा राम्रो काम गरिरहेकाले त्यसैमा निरन्तरता पाउन आग्रह गरेको स्रोतले बतायो ।

‘गृहमन्त्री रहँदा उहाँले गर्नुभएका सकारात्मक कामहरूले जनताको मन जितेको छ । सुशासनका पक्षमा गृहमन्त्रायले केही रचनात्मक काम पनि गरेको छ,’ श्रेष्ठ निकटस्रोतले भन्यो,‘अझै केही काम र कार्यक्रम सम्पन्न हुने क्रममा पनि छन् । यसैले गृहमा उहाँको निरन्तरता आवश्यक छ भनेर छलफल भइरहेको छ ।’

श्रेष्ठले अर्थमन्त्रालय एमालेलाई दिएर गृहमन्त्रालय आफूसँग राख्न पनि दबाब बढाएको स्रोत बताउँछ ।

यो खबर नागरिक दैनिकमा प्रकाशित छ ।

Exit mobile version