माओवादीको अर्थ र गृहमा दाबी

नेकपा (माओवादी केन्द्र) ले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ । बालुवाटारमा मंगलबार अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो ।

‘हामीले अर्थ र गृहमा दाबी गरेका छौं,’ माओवादीका एक नेताले भने । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन् । गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी गरिरहेको छ । सभापति रवि लामिछाने गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन् ।

तर एमालेले भने अर्थ र गृह दुवै मन्त्रालयमा दाबी नगरेको स्रोतको भनाइ छ । सोमबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपा र जसपासहितको नयाँ समीकरण बनाएका थिए । उक्त गठबन्धनबाट एक-एक जना मन्त्रीले सोमबार अपराह्न नै शपथ लिइसकेका छन् । तर मन्त्रालयमा भागबन्डा नमिल्दा बिनाविभागीय मन्त्री बनाइएको थियो भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मेवारीमा छ ।

Exit mobile version