विपद्मा मानवीय सहायता सम्बन्धी तालिम

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा आयोजना गरिएको जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र विपद्को समयमा मानवीय सहायतासम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ ।

प्लान नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम सञ्चालन गरिएको थियो ।

सो तालिमको उदेश्य सीओसी, बाल क्बल, किशोरी क्लब र युवा क्लबमा आवद्धहरुलाई जोखिममा परेका समुदाय र सम्भावित नोक्सानीलाई कम गर्न सावधानी अपनाउन सचेत गराउन उनीहरूको परिचालनका लागि महत्वपूर्ण ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

तलिममा सहभागि ३० जनालाई विभिन्न प्रकारको विपद र प्रकोपबाट सम्पत्ति, समुदाय र आफूलाई पनि सुरक्षित राख्न प्रशिक्षण दिईएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले तालिमका प्रशिक्षकले बाढी, आगलागी, आँधी र भूकम्प जस्ता विपद्का प्रकारका साथै जलवायु परिवर्तनका कारण र त्यसको प्रभाव र जोखिम न्यूनीकरणका लागि चाल्नुपर्ने पहल र जोखिम मूल्याङ्कन तथा जोखिम क्यालेन्डर अफ द इयरका बारेमा पनि विस्तृत जानकारी गराएको बताउनुभयो ।

तालिमका सहभागीहरूले पीडितलाई कसरी उद्धार गर्ने र प्राथमिक उपचार र विपद्को सामना कसरी गर्ने तथा सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण कसरी गर्ने एवं पीडितको कल्याणका लागि विपद्को समयमा सम्बन्धित निकायसँग तुरुन्त सञ्चार कसरी गर्ने भन्ने बारेमा सिकेका थिए ।

बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधरको अध्यक्षतामा आयोजना गरिएको तालिमको समापन कार्यक्रममा गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले जिल्लामा विपद्का बेला पीडितको उद्धार र व्यवस्थापनसंगै राहात लगायतका मानवीय सहायतामार्फत बालविवाह न्यूनीकरण तथा जोखिममा परेका युवतीहरूको सशक्तीकरण र रोजगारी सिर्जनामा बाँके युनेस्को क्लबले गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले यस्ता तालिमले समुदायलाई विभिन्न जोखिमबाट जोगाउन तथा क्षति कम गर्न ठुलो सहयोग गर्ने बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका संस्थापक अध्यक्ष कमल पन्थी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको पनि उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बर्दियाका विपद व्यवस्थापन प्रशिक्षकहरु महेश चन्द्र गौतम र लौटन थारुले तालिममा प्रशिक्षण दिनुभएको थियो भने सो अवसरमा परियोजना संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर विक र अन्य परियोजनाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

Exit mobile version