नगरका घरमा ‘मेट्रिक नम्बर’

नेपालगन्ज उपमहानगरपालिकाले नगरका घरहरुमा ‘मेट्रिक नम्बर’ जडान गर्ने भएको छ । त्यसका लागि चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले नगरलाई ‘डिजिटलाइज’ गर्ने अभियानमा लागिपरेको दावी गर्दै नागरिक–स्थानीय सरकारबीच सहज पहुँचका लागि घर मेट्रिक नम्बर जडान गर्न लागिएको बताए ।

विहीवार नेपालगन्ज उपमहानगरपालिका–१२ विपी चोकमा ‘विपी मार्ग’ रोड नेम प्लेट र नजिकैको घरमा मेट्रिक नम्बर प्रणाली शुभारम्भ गरेका हुन् । रोड नेम प्लेटको उद्घाटनपछि नगर प्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गरेका थिए ।

नगरको एकिकृत दीगो विकास र समृद्धिका लागि नेपालगन्ज उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको भन्दै नगर प्रमुख विष्टले प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्ने धारणा सुनाए ।

नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासका अनुसार, पहिलो चरणमा वडा नम्बर १२ का ५० वटा घरमा स्याम्प्लिङका रुपमा नम्बर प्लेट राखिनेछ । पहिलो चरणमा स्याम्प्लिङका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको बताउँदै दासले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य सुनाए ।

प्राविधिकका अनुसार, यो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर (दुरी) का हिसाबले घरमा नम्बरिङ्ग गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दुरी (मिटर) मा घर अवस्थित छ, त्यत्ति नै नम्बर उक्त घरलाई दिइन्छ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर विजोर नम्बर राखिने इन्जिनियर दासले जानकारी दिए ।

‘मेट्रिक नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बर लगायत सामाजिक–आर्थिक तथ्यांक प्रविष्ट गरिएको हुन्छ’ स्याम्प्लिङका रुपमा जिआइजेडले उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राखिने जनाउदै इन्जिनियर दासले भने, ‘यो प्रणाली सुरु भएपछि नागरिक (सेवाग्राही) को घर–घर जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।’

नेपालगन्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । नेपालगन्ज उपमहानगरपालिकाका अनुसार, हाललाई कौशल्या मार्ग, विपी मार्ग, इदगाह मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शितलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड नामका रोड नेम प्लेट राखिने छ ।

Exit mobile version