राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ मा

राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गते गर्ने तयारी भएको छ । फागुन २७ गते बस्ने राष्ट्रियसभा बैठकबाट मिति घोषणा हुने संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबारको बैठकबाट २९ गतेका लागि चुनावको मिति घोषणा गरिने र २८ गते मनोनय दर्ताको कार्यक्रम तोक्ने निर्णय बिहीबारको कार्यव्यवस्था तथा परामर्श समितिले गरेको हो । संसद् सचिवालयको क्यालेन्डरमा पनि २९ गते राष्टियसभाको अध्यक्ष चुन्ने उल्लेख छ । २७ गतेको बैठकबाट निर्वाचनको मिति र कार्यक्रम तोकिने राष्ट्रियसभा एमाले प्रमुख सचेतक भगवती न्यौपानेले बताइन् ।

६ बर्से कार्यकाल पूरा गरेर फागुन २० गतेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदाइ भएपछि रिक्त पदमा चुनाव हुन लागेको हो । माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदा कायम नेपाली कांग्रेसहितको गठबन्धन राष्ट्रियसभा निर्वाचन अघि नै टुटिसको छ । नयाँ सत्ता समीकरण बनेपछि फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच भएको समझदारी ८ बुँदे अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनेछ । उपाध्यक्ष एमालेको भागमा परेको छ ।

Exit mobile version