माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार भए ओली

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनाउन हालका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । एमाले माओवादीको गठबन्धन नबन्दै भत्किने स्थिति बनेपछि निर्णायक भूमिकामा रहेका नेपाललाई संसदको बाँकी समयमा प्रधानमन्त्रीको कार्यकाल बाँड्ने सहमति दाहाल र ओलीले गरेका हुन् ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता सहकार्य गर्दा ओली र दाहालबीच मात्रै बाँकी समय प्रधानमन्त्री हुने समझदारी भएको थियो । केन्द्रमा मात्रै नभइ केही प्रदेशमा समेत सरकार गठनका लागि समाजवादी निर्णायक भएपछि वैकल्पिक गठबन्धन बन्न नदिन ओली र दाहाल नेपाललाई प्रधानमन्त्री बनाउन तयार भएका हुन् । बुधबार मन्त्रीहरुको शपथ ग्रहणअघि तीन दलका शीर्ष नेताहरुबीच बालुवाटारमा नेपाल दाहालपछि प्रधानमन्त्री हुने गरी कार्यकाल बाँडिएको विशेष स्रोतले बतायो । स्रोतले भन्यो, ‘उहाँहरुबीच सरकारको नेतृत्व गर्ने विषयमा कुरा मिलेको छ । अबको एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहनुहुन्छ । त्यसपछि नेपालले सरकारको नेतृत्व गर्ने समझदारी भएको छ ।’

कांग्रेस-माओवादी गठबन्धनमा पनि नेपालले एक वर्ष प्रधानमन्त्री पाउने सहमति भएको थियो । अब एमाले-माओवादी, रास्वपा, समाजवादी र जसपाको गठबन्धनबाट पनि नेपाललाई त्यही समय हाराहारी सरकारको नेतृत्व गर्न दिन ओली-दाहाल तयार भएका हुन् । २०८४ मा हुने तीन तहको चुनावी सरकारको नेतृत्व भने ओलीले गर्ने सहमति भएको छ । तीन नेताबीच तत्काल एउटै गठबन्धनमा रहेर दीर्घकालमा पार्टी एकता गर्नेसमेत सैद्धान्तिक सहमति भएको बालुवाटार स्रोतले बतायो । पार्टी एकताको काम भने विस्तारै अघि बढ्नेछन् ।

बुधबार तीन दलका नेताहरुबीच बालुवाटारमा छलफल लम्बिँदा शितल निवासमा मन्त्रीहरुको शपथ ग्रहण ढिलो हुन पुगेको थियो । सुरुमा ४:३० भनिएको शपथ ग्रहण ६ बजेलाई सारिए पनि बेलुका ७:३० बजेतिर मात्रै मन्त्रीहरुको शपथ ग्रहण भएको भएको थियो । पार्टी कार्यालयमा भएको सचिवालय बैठकबाट सरकारलाई समर्थन गर्ने तर तत्काल मन्त्री नपठाउने निर्णय जानकारी गराउने भन्दै उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल बालुवटार पुगेका थिए । बालुवाटारमा तीन नेताबीच पार्टी एकतासहित सरकारको नेतृत्वमा समझदारी भएपछि दाहाल-ओलीले समाजवादीबाट त्यसै दिन मन्त्री पठाउनुपर्ने दबाब दिए ।

त्यसपछि मात्रै समाजवादीले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई शहरी विकास मन्त्री बनाउन नाम दिएको हो । समाजवादीका एक पदाधिकारीले भने, ‘हामी तत्काल समर्थन मात्रै गर्ने योजनाका साथ बालुवाटार गएका थियौँ । तर त्यहाँ पुगेपछि परिस्थिति बद्लियो ।’ प्रतिनिधिसभामा १० सिट भएको एकीकृत समाजवादीलाई बेवास्ता गर्दै सोमबार माओवादी एमाले, रास्वपा र जसपा चार दलबीच आठ बुँदे लिखित सहमति भएको थियो । सहमतिमा चार दलीय गठबन्धनलाई अघि बढाउने, राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेबाट हुने समझदारी थियो ।

तर जसपाभित्र उत्पन्न खटपट र रास्वपाको दोहोरो बार्गेनिङले एमाले-माओवादी गठबन्धन आकार नलिँदैै धर्मराएपछि समाजवादीलाई प्रधानमन्त्रीको कार्यकाल दिन र अरु शक्ति बाँडफाँटसहित भविष्यमा पार्टीलाई एक बनाउन ओली-दाहाल तयार भएका हुन् । माधव नेपालको नेतृत्वमा वैकल्पिक गठबन्धन बन्ने सम्भावना देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार साँझ नारायणकाजी श्रेष्ठलाई लिएर उनको निवास कोटेश्वर गएका गएका थिए । आफूलाई सामान्य जानकारीसमेत नदिइ गठबन्धन फेरेको र आफ्नो उपस्थितिलाई अवमूल्यन गरेको भन्दै नेपालले आक्रोश पोखेका थिए ।

भोलिपल्ट दाहाल फेरि आफ्ना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंखर पोखरेलाई लिएर नेपाल निवास गए । त्यस दिन पनि नेपालले आफूलाई बेवास्ता गरेर अघि बढेको भन्दै दुवैसँग आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले बताए । त्यहाँ ओली-दाहाल दुवैले गल्ती भएको स्वीकार गर्दै विगतका कमजोरीलाई सच्याएर सहकार्य गर्न आग्रह गरेपछि नेपाल एमाले-माओवादीको गठबन्धनलाई समर्थन गर्न सकारात्मक बने । बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुुर देउवाले नेपाललाई एमाले माओवादी बाहेकको गठबन्धन बनाएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरे । देउवाले पुरानो गठबन्धनमा पनि आफू नेपाललाई प्रधानमन्त्री बनाउन प्रतिबद्ध रहेको र फेरिएको परिस्थितिमा पनि अघि बढ्न भने पनि नेपालले अस्वीकार गरेको समाजवादीका एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘दाहाल-ओलीले घरमै आएर पुराना कमजोरी सच्याएर वामपन्थी शक्ति एक भएर जाउँ भनेपछि हामीले नकार्न सकेनौँ । यदि हामीले अस्वीकार गरेको भए समाजवादी वाम शक्ति एक हुने कुराको विपक्षमा छ भन्ने सन्देश जान सक्थ्यो ।’ सम्मानित नेता झलनाथ खनालसमेत एमाले माओवादीको वामपन्थी गठबन्धनको पक्षमै पार्टी जानुपर्ने अडान राखेका थिए । प्रतिनिधिसभामा एमालेको ७६, माओवादीको ३२, रास्वपा २१, जसपा १२ र समाजवादीको १० सहित सत्ता गठबन्धनको पक्षमा १५१ देखिएको छ । यसमा स्वतन्त्र सांसदहरुको केही सिट बढ्न सक्छ । अहिलेसम्मको अवस्थामा विपक्षी कित्तामा कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाको ४/४ सहित ११६ छ । कांग्रेसको ८९ सांसद भए पनि टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् । संसदमा हाल कामय संख्या २७२ हुँदा बहुमतका लागि १३७ भए पुग्छ ।

यो खबर देशसञ्चारमा प्रकाशित छ ।

Exit mobile version