टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै

पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो बैठक सोमबार बस्दैछ । चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता नदिएर पुरानै समितिलाई निरन्तरता दिएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएकी हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितका अनुसार बैठक दिउँसो १ बजे टीकापुरमा बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डा राखिएको छ । संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका विषयमा समेत बैठकले आवश्यक निर्णय लिने पण्डितले बताए । तर, पार्टी अध्यक्ष श्रेष्ठ काठमाडौंमा छिन् ।

Exit mobile version