नेपालगन्जमा डेढ करोड रुपैयाँसहित आठजना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार र सोमबार नेपालगन्जबाट स्रोत नखुलेका ठूलो परिणाममा नेपाली र भारतीय रुपैयाँ बरामद गरेको छ । एक करोड ३० लाख ४८ हजार सात सय नेपाली र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

यसमा संलग्न आठजना पक्राउ परेका बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले जानकारी दिए । आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर-१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हफिक अहमद पक्राउ परेका थिए । स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटेलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार सात सय नेपाली रुपैयाँ बरामद गरेको थियो ।

प्रहरीले होटेलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद गरेको बताइएको छ । त्यस्तै, बसपार्कस्थित होटेल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट ३४ लाख नेपाली रुपैयाँ र चार लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन ।

Exit mobile version