ट्रकबाट कर्णाली पुलमा सल्केको आगो नियन्त्रणमा

कैलालीको चिसापानीस्थित कर्णाली पुलमा ट्रकबाट सल्केको आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रण गर्न कैलाली, बर्दिया र बाँकेका दमकल प्रयोग गरिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणका लागि परिचालन भएका थिए । ट्रकमा लागेको आगो पुलको लठ्ठामा समेत सल्किएको थियो । तर पुलको लठ्ठामा लागेको आगो दमकलको सहयोगले निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए । तर ट्रकको आगो भने पूर्ण नियन्त्रणमा आएको छैन ।

लाइटर बोकेको ट्रक भएकाले दमकलले निभाउने प्रयास गर्दा ग्यासका कारण आगो झनै सल्किरहेको बताउँदै डीएसपी चन्दले डोजरको सहायताले बालुवाको प्रयोग गरेर निभाउने प्रयास भइरहेको बताए । तीन घण्टासम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन कर्णाली पुलबाट चल्न सकेका छैनन् । ती सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गरी कोठेघाट हुँदै हुलाकी राजमार्गबाट पठाइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version