पर्यटक स्वागत गर्दै अंग्रेजी नयाँ वर्ष

नेपालगन्जका तारे होटलले अंगेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम गरेका छन् । नयाँ वर्ष सन् २०२४ का अवसरमा बाँकेका तारे होटलहरुले राष्ट्रियस्तरका चर्चित कलाकार निम्त्याएरै विशेष कार्यक्रम गरेका हुन् ।

होटल सिद्धार्थ, सोल्टी लगायतले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गरेका हुन् । जहाँ सयौं युवाहरुले साँस्कृतिक उत्सवमा सहभागी भएका छन् । मेरो प्लानेट लगायतका पार्कमा पनि साँस्कृतिक कार्यक्रम गरिएका छन् ।

‘चर्चित गायक प्रकाश दूतराजसहित स्थानीय कलाकारको विभिन्न प्रस्तुतिमा अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको छ,’ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले आइतवार रात ीभने, ‘नेपालीमात्रै होइन, हामी कहाँ भारतीय पर्यटक पनि आउनु भएको छ ।’ उनले यसखालको कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालगन्ज ल्याएर पर्यटन क्षेत्र चलायमान बनाउन भूमिका खेलेको बताए ।

होटल सोल्टीले पनि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरेको छ । ‘हामीले आशा गरे अनुरुपका गेष्ट पाएका छौं,’ होटल सोल्टी नेपालगन्जका जनरल म्यानेजर राजविक्रम शाहले दैनिकम नेपालगन्जसँग भने । सोल्टीले चर्चित गायक राजु लामा सहितको ‘मंगोलियन हर्ट’लाई नेपालगन्जका दर्शकमाझ पहिलो पटक उभ्याएर मनोरञ्जन दिएको हो ।

ठुला र तारे होटलले मात्रै होइन, अंग्रेजी नयाँ वर्षको स्वागतमा नेपालगन्जका स–साना र मझौला होटल, रेष्टुरेन्टहरुले पनि स्थानीय कलाकारलाई स्टेज उपलब्ध गराएर आइतवार मध्यरातसम्म रौनक थपेका छन् ।

आर्थिक मन्दीले सुनसान जस्तै बनेका तारे होटललाई नयाँ वर्ष विशेष कार्यक्रमले केही चलायमान बनाउने आशा गरिएको होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेको विश्वास छ । यसखालका कार्यक्रमले तारे होटलसँगै अन्य मध्यम होटलमा पनि चहलपहल गराउने र पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने काफ्लेको भनाइ थियो ।

एक दशकयता नेपालगन्जमा तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासंघ बाँकेका पूर्वअध्यक्ष भीम कँडेल बताउँछन् । उनका अनुसार नेपालगन्ज र कोहलपुरमा होटल व्यवसायमा रू १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउनेक्रम जारी छ ।

‘नेपालगन्ज अंग्रेजी नयाँ वर्षको रौनकमा चुर्लुम्म डुबेको छ । किन नाइ, यो रौनकता हामी सधैं गराउन सक्दैनौं ? हेरौं उपाय खोजौं न नेपालगन्जमा आजको रौनकता भोलि पर्सी ..पनि हुनलाई के गर्न सकिन्छ ?,’ सन् २०२४ लाई स्वागत गर्दै नाट्टा बाँके अध्यक्ष सिग्देल सामाजिक सञ्चालमार्फत आव्हान गर्दै भन्छन् ।

Exit mobile version