होलिल्याण्डले मनायो २९औं बार्षिकोत्सव

नेपालगन्जमा रहेको होलिल्याण्ड इङ्गलिस सेकेण्डरी स्कुलले आफ्नो २९ औं बार्षिकोत्सव सोमबार औपचारिक कार्यक्रम गरी मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गोईतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख राम सुरेश यादवले विद्यार्थीलाई सही दिशा दिन अभिभावक तथा विद्यालयको समन्वयकारी भूमिका महत्वपूर्ण हुने बताए । उनले विद्यार्थीले सिकेको विषय व्यवहारिक रूपमा लागु गरे त्यो सार्थक हुने भन्दै शिक्षाको व्यवहारिक प्रयोगमा जोड दिए ।

विद्यार्थी पलायन भैरहेको प्रति चिन्ता व्यक्त गर्दै प्रमुख अतिथि, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले पहिलो जिम्मेवारी आफ्नो देश र आफ्नो ठाउँ भएको बताए । उनले पहिलो प्राथमिकतामा देशमा भएका स्रोत, साधनको प्रयोग उचित हुने धारणा राख्दै त्यसपछि मात्रै कमाउनका लागि विदेश जान आग्रह गरे ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले शिक्षक, कर्मचारी विद्यालय टिकाउनका लागि स्थायी प्रक्रियामा जान, प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था गर्न विद्यालयलाई सुझाव दिएका थिए । उनले विद्यालयमा शिक्षक भर्ना गर्दा शिक्षक अनुमति प्राप्त, बालमनोविज्ञान बुझ्नेलाई प्राथमिकता दिन सुझाव दिंदै त्यसो नभए नयाँ शिक्षक भर्ना गर्दा विद्यालयले तालिमको व्यवस्था गर्न उचित हुने बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले कमजोर विद्यार्थीका लागि अध्यापनका लागि विशेष व्यवस्था विद्यालयले मिलाउनु पर्ने बताएका थिए । उनले शिक्षकलाई क्रियाशिल बनाउन अतिरिक्त क्रियाकलाप सञ्चालनको जिम्मेवारी दिनुपर्ने बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख यादवले विद्यालय २९ औं बर्षसम्म ल्याउन सफल भएकोमा विद्यालय व्यवस्थापन, शिक्षक, कर्मचारी तथा अभिभावकलाई बधाई दिएका थिए । युवाहरू कुलतमा फस्दै गएको भन्दै उनले अभिभावकले आफ्नो सँगै छिमेकका बालबालिकाको व्यवहारमा चासो चिन्ता राख्नुपर्ने धारणा राखे ।

विद्यालयका संस्थापक प्राचार्य प्रशान्त श्रेष्ठले होलिल्याण्ड स्कुलको स्थापना २०५१ सालमा बुलबुलियामा स्थापना भएर सुरु भएको बताए । ‘शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिकाहरू वञ्चित हुन नपरोस् भन्ने मूल उद्देश्यका साथ २९ बर्ष अगाडि होलिल्याण्डको स्थापना गरेका हौं,’ उनले भने, ‘त्यतिबेला न्यूनतम विद्यार्थी थिए, वि.सं. २०६६ सालमा यस विद्यालयलाई प्लसटुसम्म सञ्चालन गर्न सफल भएका थियौं ।’

 

विद्यालयका संस्थापक प्राचार्य श्रेष्ठले विद्यालयले स्थापनाकालदेखि आजका दिनसम्म विभिन्न शिक्षा, खेलकुद लगायतका क्षेत्रमा विशिष्ट स्थान हासिल गरेको बताए । उनले विद्यार्थीहरूलाई संस्कार पनि सिकाइरहेको बताए । ‘गत बर्षमात्र यस विद्यालयकी छात्रा अञ्जना बुढामगरले बाँके जिल्लामा टप गर्न सफल हुनु भएको थियो’, उनले भने, ‘छात्रा विशाल विक्रम केसीले अण्डर नाइन्टिन वल्डकप क्रिकेट टुनामेन्टमा सहभागी हुनुभयो ।’

विभिन्न तहका विद्यालयका विद्यार्थीले सांस्कृतिक कार्यक्रम, तेक्वान्दो कला, समावेशी भेषभुषा प्रदर्शनी गरेको बार्षिकोत्सव कार्यक्रममा विद्यार्थी पुरस्कृत, उच्च शिक्षामा रहेकी छात्रालाई पुरस्कृत तथा अभिभावक भेला गरिएको थियो । कार्यक्रममा अभिभावकको तर्फबाट निल बहादुर शाक्य, पूर्व बैकर्स गजेन्द्रमान पति, पत्रकार, पूर्व विद्यार्थी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version