प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार विश्वासको मत लिँदैछन्। प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन्।
उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो।
त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो। त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

Exit mobile version