कष्टकर बसाई भएको बालबन्दीको गुनासो, आधारभूत मानव अधिकार संरक्षणमा अधिकारकर्मीको जोड
बालन्यायको उद्देश्य कानूनी बिवादमा रहेका बालकहरुको अपराधिक आचरणमा सुधार ल्याई उनीहरुलाई असल नागरिक बनाई समाजमा पुनस्र्थापना गराउनु हो । तर बालसुधार गृह मापदण्ड अनुसार संचालन हुन नसक्दा बालन्यायको उद्देश्य पुरा हुन सकेको छैन ।
बालसुधार गृह कानूनी मापदण्ड र आवश्यक पूर्वाधार सहित संचालन हुन नसक्दा बालकहरु सुधारिएर समाजमा पुनस्र्थापना हुनुका सट्टा अपराधिक क्रियाकलापमा संलग्न हुँदा सुधार गृहमा हिंसात्मक घटना दोहोरिन थालेका छन् । सुधार गृह लागु औषध कारोवारको अखडा बन्ने खतरा बढेको छ ।
गत असोज ४ गते बाँकेको आसमानपुरमा रहेको बालसुधार गृह तोडफोड सहितको हिंसात्मक घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै ठूलो क्षति भयो । बाँकेमा मात्रै नभएर यस्तै प्रकृतिका घटना भक्तपुर लगायतका बालसुधार गृहमा पनि भएका छन् ।
यसो हुँनुमा सुधारगृहमा बालकहरुलाई सुधार्ने भन्दा पनि थुन्ने मात्रै कार्यले भएको हो भन्छन् बालन्यायको क्षेत्रमा कार्यरत एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतम । अधिवक्ता गौतमका अनुसार, बालकहरुको आचरणमा सुधार ल्याउने मनोसामाजिक परामर्श लगायत शिक्षा, स्वास्थ्य, मनोरञ्जनका आवश्यक कार्यक्रम नहुँदा यस्ता घट्नमा मद्दत पुग्दछ ।
अधिकारकर्मीद्वारा बालसुधार गृह नौवस्ताको अनुगमन
बाँकेका कानून ब्यवसायी र अधिकारकर्मीद्वारा बाँकेको नौवस्तामा हालै संचालनमा ल्याइएको बालसुधार गृहको अनुगमन गरेका छन् ।
एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, नेपालगन्ज उच्च बारका पूर्व अध्यक्ष अधिवक्ता बल बहादुर चन्दले सुधार गृहको अनुगमन गरेका हुन ।
अनुगमनका क्रममा सुधार गृह संचालनको पुर्वाधार बिनै मापदण्ड बिपरित सुधार गृह संचालनमा ल्याइएको पाइएको अधिवक्ता गौतमले बताए । आवश्यक भौतिक सामाग्री र पूर्वाधार बिनै सुधार गृह संचालन हुँदा बालबन्दीहरुले न्यूनतम सुबिधा समेत नपाएको उल्लेख गर्दै अनुगमनका पुगेका अधिकारकर्मीले बालबन्दीहरुको आधारभूत मानव अधिकार संरक्षणमा जोड दिएका छन् ।
बाँके स्थित डुडुवाको बालसुधार गृहमा गत असोज ४ गते आगजनी तोडफोड र दोहोरो झडप र मृत्युको घटना पछि क्षेत्रीय कारागारका रुपमा निर्माण गरिएको नौवीस्ताको ब्लक ए लाई बालसुधार गृहको रुपमा संचालनमा ल्याइएको हो । जहाँ चार वटा भवन रहेका छन् । चार वटा भवनमा २० वटा कोठा रहेका छन् । हाल २ जना मात्र कर्मचारी रहेका छन् । नौवस्ता बालसुधार गृहमा हाल ८९ जना बालबन्दी रहेका छन् ।
गत २०८० असोज २६ गते देखि संचालनमा ल्याइएको सुधार गृहमा २७ गते देखि १८ बर्ष कटेका बालबन्दीहरुलाई राख्न थालिएको छ । यसमा बालसुधार गृह भक्तपुर बाँके, हेटौडा, पर्सा, भैरहवा लगायतका स्थानबाट उमेर पुगेका बालबन्दीदलाई राख्न लागिएको हो ।
भवन नयाँ भए पनि त्यहाँ बालबन्दी राख्न लागि आवश्यक पूर्वाधारको अभाव रहेको छ । कारागार मार्फत बन्दीले पाउने सिधा र पैसा पाए पनि अन्य भौतिक साधन श्रोतको अभावमा संचालनमा समस्या परेको बालसुधार गृहका इन्चार्ज श्याम बहादुर रानाले बताए ।
नौवस्ता बालसुधार गृहमा स्वास्थ्यकर्मी छैनन । दैनिक एक जनाका दरले बिरामी परि उपचारका लागि अस्पताल लैजान समस्या रहेको छ । सुधार गृहमा हेपाटाईटिस, मुटु, किड्नी, र टिवीका बिरामी छन् । सरुवा रोग लागेका बिरामीलाई समेत एकै कोठामा राख्ने गरिएको सुधार गृहमा रहेका बालकहरुले गुनासो गरे । सुधार गृहसंग बिरामी उपचार खर्च नभएकाले बालबन्दीले पैसा उठाएर साथीको उपचार गराउनु पर्ने अवस्था रहेको थुनुवा बालबन्दीले बताए ।
नौवस्ता सुधार गृहमा बालबन्दी सुत्नका लागि ओड्ने ओछ्याउने बिस्तरा छैनन, मनोरञ्जनका लागि खेलकुदमा सामाग्री छैनन्, शिपमुलक तालिमको ब्यवस्था छैन, स्वच्छ खानेपानी, पढ्ने लाईब्रेरी, पाठ्य सामाग्री र बिद्यालयको ब्यवस्था छैन । चारदिवार भित्रको बन्द कोठामा थुनेर राखिदा दिनभर त्यतिकै कुंजिएर दिन कटाउन बाध्य भएको थुनुवा बालबन्दीहरुले अधिकारकर्मीसंग गुनासो गरेका थिए ।
बालसुधार गृह नौवस्तामा रहेका बालकहरुका लागि पढ्ने ब्यवस्था छैन । अन्यत्रबाट त्यहाँ भर्खर सारिएकाहरुको बिचैमा पढाई टुटेको छ ।
नौवस्ता बाल सुधार बसाईका लागि पि फर्मको ब्यवस्था छ । पर्याप्त ओड्ने ओछ्याउने कपडा छैनन । काठको सेटिङ्गभएको भुईमा फर्म बिछ्याएर बालकहरु बस्ने गरेका छन् । नौवस्ता बालसुधार गृहका लागि केन्द्रबाट बजेटको ब्यवस्थापन अझै हुन सकेको छैन । कार्यालय संचालनमा न्यूनतम सामाग्रीहरु कम्युटर ल्यापटप प्रिन्टर लगायत नहुदा समस्या परेको सुधार गृहका इन्चार्जले बताए ।
सुधार गृहका बालबालिकाहरुलाई खेल खेल्ने खेलकुद र मनोरञ्जका साधनहरुको ब्यवस्था छैन । सुधार गृहमा बालमनोबिज्ञ, सामाजिक कार्यकर्ताको ब्यवस्था हुन सकेको छैन । आयमुलक शिपमूलक तालिमको कुनै कार्यक्रम रहेका छैनन् । कानूनी परामर्श दिनका लागि कानून अधिकृतको ब्यवस्था छैन ।
सुधार गृहमा रहेका बालबन्दीहरुले शिक्षा, स्वास्थ्य, भाषा सम्बन्धी ज्ञान, आयमुलक कार्य सिप, संगित कक्षा, कम्युटर तालिम सिक्ने चाहाना राखेका छन् ।
बालकहरुले मनोरञ्जन र समय कटाउनका लागि कम्तीमा एउटा टेलिभिजन, खेलकुद सामाग्री, शिपमुलक तालिम, मनोसामाजिक परामर्श, ओड्ने ओछ्याउने बिस्तरा, स्वच्छ खानेपानी ब्यवस्था हुनु पर्ने माग गरेका छन् ।
न्यूनतम भौतिक पूर्वाधार र सुबिधा बिनै बालकहरुलाई थुनेर राख्ने मात्र कार्य भएकोले बालसुधार गृहलाई साँच्चिकै गृहको रुपमा संचालन गर्नु पर्ने आवश्यकता रहेको अधिकारकर्मी बताउँछन् ।
प्रहरी नायव उपरिक्षक तिवारीको पहलमा सुधार गृहमा देउसी भैलो कार्यक्रम इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले पहिलो पटक बालसुधार गृहमा रहेका बालकहरुलाई लक्षित गरि सुधार गृहमा देउसी भैलोको कार्यक्रम गरेका छन् ।
पूर्वाधार बिनाको चार दिवार भित्र बाहिरी संसारबाट बन्चित भई बसेका बालबन्दीसंग तिहारमा देउसी भैलो कार्यक्रम गर्नाले मानसिक तनाव कम गर्न मद्दत पुगेका बालबन्दीहरुले बताए । र्
हामीले एक दिन मज्जाले रमाइलो गरियो । क्षणलाई हामी कहिल्यै बिर्सदैनौ’ बालबन्दीले अधिकारकर्मीसंग भने, ‘बालबन्दीसंग प्रहरी नायव उपरीक्षकले साथभाई जस्तै गरि समय समयमा अन्तरक्रिया गर्ने, उनीहरुका प्रतिभा सुन्ने गर्दछन् । हामीले यस्तो प्रहरी अधिकारी पहिलो पटक फेला पा¥यौ । वहाँले हाम्रा पिरमर्का सुन्नु हुन्छ । हामीसंग साथीभाईसंग जस्तै कुराकानी गर्नु हुन्छ, जसका कारण हामीले वहाँलाई हाम्रा पीडा, प्रतिभा सुनाउने गर्दछौ ।’
अधिकारकर्मीसंगै नौवस्ता कारागार पुगेका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको बालबन्दीले खुलेर प्रसंशा गरे । प्रहरी नायव उपरिक्षक तिवारी दशैको अवसरमा समेत बालकहरुलाई भेट्न पुगेका थिए । चाडवाडमा उपस्थित भई सुधारको आशिष पाउँदा तनावमा रहेका बालबन्दी खुसी भएका थिए ।
मापदण्ड अनुसार संचालन नभएर न्यूनतम सुबिधा उपभोग गर्न नपाएका बालकहरुले जिल्ला बालन्याय समन्वय समितिका संयोजक एवं बाँके जिल्ला अदालतमा न्यायाधीश, प्रमुख जिल्ला अधिकार लगायतका सम्बद्ध अधिकारीहरुसंग आफ्ना गुनारा राख्न चाहेकोले यो सन्देश वहाँहरुसम्म पुराई दिन अधिकारकर्मीसंग अनुरोध गरेको अनुगमनमा पुगेका अधिकारकर्मी बसन्त गौतमले बताए ।
अधिकारकर्मीको चासो
अधिकारकर्मीले बाँकेका बिभिन्न हिरासत केन्द्रको भ्रमण गरि कैदीबन्दीको आधारभुत मानव अधिकार उपभोगको अवस्थाका बारेमा चासो राखेका छन् ।
एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतम, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, नेपालगन्ज उच्च बारका पूर्व अध्यक्ष अधिवक्ता बल बहादुर चन्दद्वारा जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जयसपुर, वडा प्रहरी कार्यालय फुल्टेक्राको स्थलगत भ्रमण गरि त्यहाका प्रहरी अधिकारी र हिरासतमा रहेका थुनुवाहरुसंग हिरासत ब्यवस्थापन र कैदीबन्दीको आधारभुत मानव अधिकारका बिषयमा छलफल गरेका छन् ।
यस क्रममा बालसुधार गृहमा गत असोज ४ गते भएको तोडफोड र मृत्युको घटनाको बिषयलाई लिएर पक्राउ परेका बालबन्दीहरुले अधिकारकर्मीसंग हिरासतमा राखेको २ महिना पुग्दा समेत अदालतमा पेश नगरिएको, लामो समयसम्म हिरासतमा कुंजिएर बस्नु परेको गुनासो गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेमा हाल क्षमता भन्दा बढी थुनुवाहरु रहेका छन् । जसमा कारण थुनुवाहरु हिरासतमा कोचाकोचको स्थितिमा बस्न बाध्य छन् । दशै तिहारको लामो बिदाका कारण अदालतमा अभियोग पत्र दर्तामा ढिलाई भएका कारण थुनुवाको चाप बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले बताए ।