देशमा आजः ८ बजे ८ खबर

  1. राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७१/०७२ बाट सुरु गरिएको आयोजनाको म्याद झन्डै साढे ४ बर्ष बाँकी छ । कोरोना महामारी, ठेक्का सम्झौतामा ढिलाइ, कामदार अभाव, समयमै अख्तियारी नआउनु, बाढीलगायत कारण आयोजनाको काममा ढिलाइ भइरहेको हो ।
  2. सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनामा तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको पाँच दलीय गठबन्धनको बलमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभाको बुधबार‍‍‍‍‍‍‍‍‍ उपस्थित २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिए । ११० जनाले विपक्षमा मत दिए । मत दिन्नँ भन्ने एक जना थिए ।
  3. पुर्पक्षका लागि थुनामा रहेका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीको कमलामाई नगरपालिका–८ को पैरेस्थित आश्रम आसपासमा प्रवेश निषेध गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । आनीहरूमाथि बलात्कार र अनुयायी बेपत्ता पारेको मुद्दामा बम्जन यतिबेला कारागारमा छन् । तर, पैरेको आश्रममा रहेका बम्जनका अनुयायीहरूले स्थानीयलाई दुर्व्यवहार गरेको आरोप छ ।
  4. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ ।
  5. घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । घाँटीमा समस्या भएपछि बुधबार बिहान अस्पताल ल्याइएका राजपुर गाउँपालिका–१, पटौली नाकाका नौ वर्षीय सुरेश कुँवरको मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा घेराउ गरेका छन् ।
  6. सामाजिक सञ्जाल भाइबर नेपालमा दर्ता भएको छ । योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक बनेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
  7. भारतबाट अवैधरुपमा नेपालगन्ज ल्याइएका बाख्रा प्रहरीले नियन्त्रण गरेको छ । नेपालगन्ज-१५ जमुनाह गाउँबाट सातवटा बाख्रा नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आवश्यक कारबाहीका लागि ती बाख्रा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
  8. र, नेपाली क्रिकेट टोलीले फेरी अर्को फाइनल खेल हारेर उपाधिबाट विमुख भएको छ । एक दिन अघि मात्रै ८५ रनको फराकिलो अन्तरले हराएको पपुवा न्यु गिनी (पिएनजी) अघि फाइनल खेलमा नेपाली ब्याटरले निराशाजनक प्रदर्शन गर्दा ८६ रनको लज्जास्पद हार ब्यहोरेको छ ।
Exit mobile version