टिकटक प्रतिबन्ध लगाउने विधेयक अमेरिकी हाउसले पास गर्‍यो

चिनियाँ नागरिकको स्वामित्वमा रहेको ‘टिकटक’ अमेरिकालाई नबेचे सो एप देशभर प्रतिबन्ध लगाउने विधेयक अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले पास गरेको छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो ।

द न्यूयोर्क टाइम्सका अनुसार यो विधेयक अब सिनेटमा जानेछ । सिनेटले यो विधेयक पास गर्छ कि गर्दैन भन्ने यकिन छैन । दुबै सदन हाउस र सिनेटले पास गरेपछि यो विधेयक राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ । राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू छन् । यो बाइटडान्स कम्पनी चीन सरकारको भएको र यसले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणहरू संकलन गरिरहेको अमेरिकी हाउसका सदस्यहरूको भनाइ छ । चीनले कुनै पनि बेला प्रयोगकर्ताहरूको थप विवरण माग्ने पनि उनीहरूको भनाइ छ । यसबाट अमेरिकालाई असुरक्षा हुने भन्दै उनीहरूले कि टिकटकको स्वामित्व बेच्नुपर्ने, नभए प्रतिबन्ध लगाउनुपर्ने भनेका हुन् ।

Exit mobile version