पर्यटन प्रवद्र्धनमा जोड

होटल व्यवसायी महासंघ बाँके नेपालगन्जले शुक्रबार आफ्नो १९ औं बार्षिक साधारणसभा औपचारिक कार्यक्रम बीच मनाएको छ ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयता पछि होटल व्यवसायलाई परेको असरलाई पर्यटक भित्र्याएर कम गर्न सकिने बताए ।

नगर प्रमुख विष्टले नेपालगन्जलाई धार्मिक पर्यटनका हिसाबले जोड्नका लागि अयोध्या र जनकपुरसँग जोड्ने प्रयास भैरहेको बताउँदै नेपालगन्जमै निर्माण भैरहेको १ सय ८ फिट अग्लो हनुमानको मूर्ति धार्मिक पर्यटक भित्र्याउने एउटा आकर्षण भएको बताए ।

होटल व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले नेपालगन्जका पर्यटकलाई स्वागत गर्न प्रशस्त तथा स्तरीय होटल रहेको भन्दै पर्यटक भित्रिने वातावरण सरकारले बताउनु पर्ने बताए ।

काफ्लेले नेपालगन्जमा अर्थतन्त्र बलियो बनाउन सबैभन्दा उर्वर क्षेत्र पर्यटन भएको बताए । ‘हामी यहाँबाट गाडी, मोबाइल, कार बनाएर विदेशमा लगेर बेच्न सक्ने अवस्थामा छैनौं’, उनले भने, ‘हामी सँग भएको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर सबैका लागि बलियो आर्थिक स्रोत बनाउन सकिन्छ ।’

होटल व्यवसायी संघका केन्द्रीय सदस्य भीमलाल कँडेलले स्थानीय तहसँग होटल व्यवसायीका लागि क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिदिन आग्रह गरे ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले होटल सञ्चालन गर्दा खानाको गुणस्तर, सरसफाईमा ध्यान दिन आग्रह गरे । उनले पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि व्यवसायीहरुले आफ्ना होटलमा पर्यटकीय क्षेत्रको चिनारी, तस्वीरहरु राख्न सुझाव दिए ।

बार्षिक साधारणसभा संघले अग्रज व्यवसायी, टोल समिति, कार्यसमितिका पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।

Exit mobile version