देशमा आजः ८ बजे ८ खबर

  1. जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ ।
  2. उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्को बेल घेराउ गरेको छ । शुक्रबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदले संसद्को बेल घेराउ गरेका हुन् । उनीहरुले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।
  3. लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए ।
  4. वन तथा वातारण मन्त्रालयले संरक्षित क्षेत्रहरूमा बाह्य पर्यटक वृद्धि गर्ने रणनीति लिएको छ । संरक्षित क्षेत्रलाई आकर्षक बनाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ बाह्य पर्यटक बढाउने लक्ष्य लिइएको हो । संरक्षित क्षेत्रमा बाह्यभन्दा आन्तरिक पर्यापर्यटन बढी भएको भन्दै विदेशी पर्यटक वृद्धि गर्ने लक्ष्य लिएको विभागले जनाएको छ ।
  5. लघुवित्त ऋणी र सरकारबीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समिति र लघुवित्त ऋणीहरूबीच सहमति भएको हो । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका पदाधिकारीहरूलाई आन्दोलनरत पक्षसँग वार्ता र सहमति गर्न निर्देशन दिएका थिए । 
  6. नेपालमा कार्यरत भारतीयले पनि ‘क्यूआर’ मार्फत रकम पठाउन सक्ने भएका छन् । नेपालमा कार्यरत भारतीयले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत ‘नेसनल पेमेन्ट स्वीच’ का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
  7. नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुईजना डीएसपी जिम्मेवारीबाट हटाइएका छन् । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको  हो ।
  8. र, घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा राजपुर गाउँपालिका–१ पटौली नाकाका नौ वर्षीय बालक सुरेश कावरको उपचारका क्रममा मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय, सर्वपक्षीय बैठकबाट घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो ।
Exit mobile version