देशमा आजः ८ बजे ८ खबर

1.         कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ । शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दगोरिया गाउँपालिका- ४ मुडामा विरगञ्जबाट लाइटर, खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

2.         नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुर, वडा नम्बर ८ को बालापुर र वडा नम्बर ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युतबाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए ।

3.         व्यक्तिबाट व्यवसायीमा अर्थात् पर्सन टु मर्चेन्ट (पिटुएम) मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी खुला गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार ‘एकीकृत परिपत्र, ०८०’ संशोधन गर्दै पिटुएम मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गर्ने बाटो खुला गरेको हो ।

4.         बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबार सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुई दिनपछि पूरा हुनेछ ।

5.         घोराहीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरको ठक्करबाट घोराही उपमहानगरपालिका–१७ भैंसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको हो ।

6.         अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ । कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको नौ सय ४४ र चालु आवको एक हजार ९५ गरेर कूल उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिए ।

7.         कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएका बाबु-छोरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई काठमाडौं लगिएको हो ।

8.         र, कञ्चनपुरको लालझाडी गाउँपालिका-४ जाँईबाट १५ गोलिया सालको काठसहित एकजना पक्राउ परेका छन् । प्रहरीले शुक्रबार जाँई शिविरमा बस्ने जितेश रानालाई राँगा गाडामा काठ ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

Exit mobile version